असार २७
आर्थिक अभाव झेलिरहेको श्रीलंकालाई भारतले यसवर्ष ३.८ अर्ब अमेरिकी डलर सहयोग गरेको जनाएको छ । भारतीय विदेश मन्त्रालयले सो कुराको जानकारी दिएको हो । परराष्ट्र मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले पत्रकारको प्रश्नमा जवाफ दिने क्रममा भने ,‘श्रीलंका र त्यहाँका जनताले सामना गरिरहेका अधिकाशं चुनौतीहरूबारे हामी सचेत छौं । यो कठिन समयलाई पार गर्ने प्रयासमा हामी श्रीलंकाका जनताको साथमा छौँ ।’
अरिन्दम बागचीले अगाडि भने,‘श्रीलंकालाई ‘नेबरहुड फस्ट(छिमेकी पहिलो)’ नीति अनुरुप भारतले यसवर्ष श्रीलंकाको गम्भीर आर्थिक अवस्था सुधारका लागि ३.८ अर्ब डलरभन्दा बढीको सहयोग दिएको छ ।’ अभूतपूर्व आर्थिक संकटको सामना गरिरहेको श्रीलंका आफ्नो आधारभूत आवश्यकताहरू पूरा गर्न समेत संघर्ष गरिरहेको छ । पहिलेदेखि ठूलो ऋणमा डुबेको यो मुलुक आफूले तिर्नुपर्ने ऋणको किस्ता पनि तिर्न सक्ने अवस्थामा छैन । उसले छिमेकी राष्ट्र भारत, चीन र अन्तर्राष्ट्रिय मुद्रा कोषबाट पनि आर्थिक सहयोग खोजिरहेको छ । –बीबीसी हिन्दी






