काठमाडौं–तराई फास्ट ट्रयाक आयोजनाका दुई चिनियाँ कम्पनीमाथि सेनाको एक्सन

२०७९ जेष्ठ २४, मंगलवार
पढ्ने समय : 2 मिनेट

जेठ २४
नेपाली सेनाले काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) आयोजनामा सहायक ठेक्का पाएका दुई चिनियाँ कम्पनीमाथि एक्सन लिएको छ ।

ठेक्का लिएर काम गर्नुपर्नेमा आयोजना नै होल्ड गर्ने उद्देश्यले काम नगरी ढिलाई गरेपछि सेनाले एक्सन लिएको छ । पाँच वर्षभित्र सक्ने गरी फास्ट ट्रयाकलाई सेनाले प्रतिष्ठा कै आयोजना ठानेको छ ।

सेनाको डेटलाइन पनि फेल गराएर जनताका नजरमा अरु ठेकेदारसँगै बदनाम गराउने अवस्था सिर्जना हुनेगरी चिनियाँ कम्पनीहरुले काम नगरेपछि सैनिक मुख्यालय जंगी अड्डाले एक्सन लिएको हो ।
फास्ट ट्रयाकको सुरुङ निर्माणको ठेक्का लिएका दुई चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन र पोलिचाङ्दा इन्जिनियरिङ कम्पनी लिमिटेडलाई छिटो र गुणस्तरीय काम नगरेको भन्दै सेनाले प्रारम्भिक कारवाहीमा निलम्बन गरेको छ ।

सेनाको फास्ट ट्रयाक हेर्ने विभागको निर्देशनमा परामर्शदाता योसिन इन्जिनियरिङ कर्पोरेसन–कोरिया एक्सप्रेस वे कर्पोरेसन र पियोङ्वा इन्जिनियरिङ कन्सल्टेन्ट जेभीले काममा ढिलाई गरेको र ताकेता गर्दा पनि सुनुवाइ नभएको भन्दै चिनियाँ कम्पनीलाई निलम्बनको पत्र थमाएको छ ।

निलम्बन पत्र बेइजिङ पुगेको बुझिएको छ । फास्ट ट्रयाक हेर्ने सेनाका एक उच्च अधिकारी का अनुसार परामर्श दाता मार्फत करिब दुई साताअघि चिनियाँ कम्पनीलाई निलम्बनको पत्र थमाइएको हो । चिनियाँ कम्पनीले तीन वर्षभित्र सुरुङ निर्माण सम्पन्न गर्ने घोषणासहित १३ महिना अघि ठेक्का लिएको थियो ।
तर, सेनाको समय स्पिरिट अनुसार काम हुन सकेको छैन । चिनियाँ कम्पनी एकदमै सुस्त गतिमा गइरहेका छन् । उनीहरुको सुस्त गतिले सेनाको लक्ष्य मै प्रहार गर्ने देखिएपछि कामबाट विदा गर्ने निर्णय भएको हो ।
सेनाले परामर्श दाता मार्फत पठाएको पत्रमा निर्माण कम्पनीसँग दक्ष टनेल इन्जिनियर नभएको, कमजोर मिस्त्री, डिजाइन र कार्यविधिको बेवास्ता, उपकरण तथा उचित निर्माण सामाग्री पनि नभएको औल्याइएको छ।
दुबै कम्पनीले दुई चरणमा महादेवडाँडामा ३.३ किलोमिटर सुरुङमार्ग तथा मकवानपुरको धोन्द्रेस्थित सिम्पानीदेखि चालिसे खोल्सीसम्म १.३७ किलोमिटर र लेनडाँडास्थित घट्टेपाखादेखि बाँदरे खोल्सी सम्म १.४ किलोमिटर गरी दुईवटा सुरुङमार्ग र पुल निर्माणको ठेक्का पाएका थिए ।
यसमा करिब ५० अर्ब बजेटको ठेक्का छुट्याइएको थियो । फास्ट ट्रयाक सेनाले आर्थिक वर्ष २०८०÷८१ मा सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

A signboard of under-construction Kathmandu- Nijgadh Fast Track, in Bara district, on Monday, January 1, 2018. Photo: Pushparaj Khatiwada

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय