बैशाख ४
उत्तरी छिमेकी चीनले अध्ययनका लागि एकै पटक कम्तिमा ४० कार्यक्रमका लागि नेपालका सरकारी कर्मचारीलाई अवसर प्रदान गर्ने भएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार चीनले नेपालका कर्मचारीलाई ४० फरक–फरक विषयका लागि एक वर्षे स्नातकोत्तर, दुई वर्षे स्नातकोत्तर र पीएचडी गर्न चाहनेका लागि छात्रवृत्रि प्रदान गर्न लागेको हो। मन्त्रालयका अधिकृत सुमन खड्काका अनुसार फरक–फरक विश्वविद्यालयका ४० कार्यक्रम भनिए पनि ती कार्यक्रममा कति जना भनेर खुलाइएको छैन।
एउटा विषयका लागि कम्तिमा तीन जना विद्यार्थी लिएमा १सय२० जना सरकारी कर्मचारी अध्ययनका लागि चीन जान पाउनेछन्। कति जनाको कोटा हो भनेर अहिले नखुलाइएको र त्यो जति पनि हुनसक्ने जनाइएको छ।
यसका लागि सामान्य प्रशासन मन्त्रालयले गत चैत २६ मै सबै मन्त्रालय, आयोग सचिवालय, केन्द्रीय स्तरका कार्यालय, सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र स्थानीय तहलाई पत्राचार गरिसकेको छ। मन्त्रालयले आआफ्नो कार्यालयबाट छात्रवृत्तिका लागि कर्मचारीको नाम पठाउन भनेको छ। नाम पठाउँदा सम्बन्धित सेवा, समूह र श्रेणीभित्रका समावेशी महिला, आदिवासी जनजाति, मधेसी, दलित, अपांगता भएका व्यक्ति, पिछडिएको क्षेत्र तथा हालसम्म अवसर नपाएका र दुर्गमका सबैभन्दा बढी समय काम गरेका आधारमा कर्मचारीलाई प्राथमिकता दिन भनिएको छ।






