भैरहवा चैत ५
बुद्ध जन्मस्थल लुम्बिनीबाट एक युवाले ‘महान नेपाल ५ वर्षे राष्ट्रिय पदयात्रा’ सुरु गरेका छन् । सल्यानको दार्मा गाउँपालिका–५ का २६ वर्षीय मदन केसीले बिहीबार लुम्बिनीबाट पदयात्रा सुरु गरेका हुन् । विभिन्न बुँदामा बाचा पत्र बनाएर पदयात्रा सुरु गरेका केसीलाई लुम्बिनीमा उनका बुवा तेजु खत्री र र आमा लक्ष्मी खत्रीले खादा–टिका लगाइदिएर यात्रा सफलताको शुभकामना दिए ।
‘नेपाल चिन्ने, नेपाल बनाउने अभियान’सहित केसीले सुरु गरेको पदयात्रा ‘नेपालको माटो, नेपालको आवाज’, ‘गाउँ–गाउँ पुगौं, राष्ट्र बुझौं’, ‘मेरो पाँच वर्ष राष्ट्रको लागि’ भन्ने नाराहरु तय गरिएको छ । केसीले नेपाल केवल भौगोलिक देश मात्र नभई यो इतिहास, संस्कृति, संघर्ष र आशाको राष्ट्र भएको जनाए । ‘तर आज पनि नेपालका धेरै गाउँहरू राज्यको ध्यानबाट टाढा छन् । विकासको अवसरबाट वञ्चित छन् । आफ्नो आवाज सुनाउन सकिरहेका छैनन् । यसैले यो महान नेपाल ५ वर्षे राष्ट्रिय पदयात्रा सुरु गरेको हुँ । नेपाललाई नक्साबाट होइन, पैदल हिँडेर बुझ्न चाहान्छु’, उनले भने ।

ड्रोन टेक्नोलोजी अध्ययन गरेका केसी कुनै समय विप्लब नेतृत्वको नेकपामा आबद्ध थिए । करिब पाँच वर्ष उनले नेत्र विक्रम चन्द विप्लबको सचिवालयमा बसेर आइटी हेरेका थिए । तर, राजनीतिबाट मात्रै देश बुझ्न नसकिने बुझेपछि पदयात्रा अभियानमा लागेको उनले जनाए । उनले आजदेखि २०८७ साल चैत्र ४ गतेसम्म मुलुकभर आफ्नो हिंडेर पदयात्रा जारी रहने बताए ।
केसीले नेपालका सबै भूगोल हिमाल, पहाड, तराईका दुर्गम गाउँ तथा सबै ठाउँ पुगेर वास्तविक नेपाल बुझ्ने, गाउँ–गाउँबाट नागरिकका समस्या, सम्भावना र सपना संकलन गर्ने, इतिहास र संस्कृति संरक्षण गर्ने, स्थानीय इतिहास, भाषा, परम्परा जीवनशैली सवैलाई दस्तावेज बनाउने आफ्नो उद्देश्य रहेको अभियन्ता केसीले बताए ।
यस्तै, यात्रा मार्फत् नेपालका सबै जाति, भाषा र संस्कृतिलाई जोड्ने, अनुसन्धान र ज्ञान बटुल्ने उउनले बताए । यो अभियानसँग महान रिसर्च प्रालि जोडिएको र यसले अनुसन्धान, डाटा संकलन तथा डकुमेन्टेशनको काम गर्ने छ ।
उनले आफ्नो यात्राको अवधि ५ वर्ष हुने र पूर्ण पैदल रहने बताए । दैनिक १५–२५ किलोमिटर हिँड्ने, स्थानीय समुदायसँग बस्ने, गाउँमा संवाद गर्ने, भिडियो, फोटो र लेखनद्वारा दस्तावेज बनाउने काम गर्ने बताए । यात्रा नेपालको सबै प्रदेश हुनेछ ।
लुम्बिनी, सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती, मधेश, कोशी प्रदेशका यात्रा गरिने र यस क्रममा दुर्गम गाउँ, ऐतिहासिक स्थल, प्राकृतिक क्षेत्र सवै ठाउँ पुग्ने लक्ष्य राखेको केसीले जनाए । उनले नेपालको राष्ट्रिय पहिचान र एकता, जनता–जनताको आवाज र जीवन, इतिहासको खोज र संरक्षण, ज्ञान–अनुसन्धान र अध्ययन तथा भविष्य नेपालको सम्भावनाको खोज गर्ने गरी यात्राको पाँच स्तम्भ तय गरेका छन् ।
केसीका अनुसार यो अभियान सत्य, अनुशासन, साहस, अनुसन्धान र राष्ट्रप्रेम गरी पाँच सिद्धान्तमा आधारित हुनेछ । ‘यो यात्रा केवल हिँड्ने होइन, यसबाट नेपाल पदयात्रा डकुमेन्ट्री, नेपालको गाउँको कथा, ५ वर्षको यात्रा पुस्तक, नेपाल अनुसन्धान डाटा आदि दस्तावेज तयार गरिनेछ’, उनले भने ।
उनले यो अभियानमा सहभागी हुन सबैलाई आह्वान गरेका छन् । युवा, विद्यार्थी, अनुसन्धानकर्ता, पत्रकार, समाजसेवी सबैले आफ्नो ठाउँबाट योगदान दिन सक्ने उनले जनाए । ‘आज म नेपालको आत्मा खोज्ने यात्रामा निस्किएको छु । शान्ति, ज्ञान र मानवताको यही भूमिबाट एउटा नयाँ संकल्प जन्मिएको छ । नेपाल सुन्दर छ । नेपाल महान छ । तर अझै पनि नेपालका धेरै गाउँहरू हाम्रो नजरबाट टाढा छन् । धेरै आवाजहरू अझै पनि नसुनिएका छन् । त्यसैले आज म एउटा वाचा गर्दछु । म नेपालको गाउँ–गाउँ पुग्नेछु । म जनताको कथा सुन्नेछु र नेपालको वास्तविक कथा संसारलाई सुनाउनेछु’, उनले भने ।
उनले यो यात्रा एक दिनको होइन, यो यात्रा एक वर्षको पनि होइन, यो यात्रा ५ वर्षको हुने जनाए । ‘हिमालदेखि तराईसम्म, मेचीदेखि महाकालीसम्म पैदल हुनेछ । यो यात्राले मलाई मात्र होइन, हामी सबैलाई नेपाल बुझ्न मद्दत गर्नेछ’, उनले भने, ‘यदि एउटा नेपालीले राष्ट्र बुझ्नका लागि आफ्नो जीवनको समय दिन सक्छ भने नेपालको भविष्य अवश्य उज्यालो हुनेछ । आजबाट सुरु भएको यो पदयात्रा एक दिन इतिहास बन्नेछ । यो यात्रा सत्ता प्रचार प्रसिद्धीका लागि होइन, नेपालका वास्तविक समस्या बुझ्नका लागि हो’, उनले भने ।



आफ्ना पाइला थाक्न सक्छन् तर आफ्नो प्रतिवद्धता कहिल्यै नथाक्ने उनले जनाए । ‘५ वर्षपछि फर्कंदा म केवल यात्रु भएर होइन, नेपाललाई बुझेको एक जिम्मेवार नागरिक भएर फर्किने छु । आज म एक्लै हिंड्दै छु तर मलाई विश्वास छ, यो यात्रामा अन्तत पुरा नेपाल साथमा हुनेछ ।’



