भैरहवा मसिर २७
‘प्रथम भैरव नकआउट फुटबल प्रतियोगिता’को उपाधि भैरव युवा क्लव रामग्राम नवलपरासीले हात पारेको छ । सिद्धार्थनगर–१, पक्लिहवामा शनिवार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा सम्पूर्ण युवा क्लब, सुपौली तिलोत्तमा, रुपन्देहीलाई २–१ गोलले पराजित गर्दै भैरव युवा क्लवले उपाधि हात पारेको हो ।
उपाधिसँगै भैरव क्लवले नगद १ लाख रुपैयाँ प्राप्त गरेको छ । उप बिजेता बनेको सम्पूर्ण युवा क्लब, सुपौलीले नगद ५० हजार रुपैयाँ सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। पक्लिहवा माविको खेल मैदानमा सञ्चालित उक्त प्रतियोगिताको फाइनलमा खेल सुरु भएको ११ मिनेटमैं सम्पूर्णका खेलाडी सुगम ठकुरीले पहिलो गोल गरेका थिए । भैरवका गोलकिपर गोलपोष्टतर्फ आउँदै गरेको बल छोप्न गोलपोष्ट अगाडि बढेको बेलामा ठकुरीले प्रहार गरेको बल गोल भएको थियो ।निर्धारित ७० मिनेटको खेलमा मध्यान्तर पछिको ६ मिनेटमा भैरवका खेलाडी मनिस थारुले एक गोल गरेर खेललाई बराबरीको अवस्थामा ल्याए । त्यसपछि लामो समयसम्म दुवै टिमले गोल गर्न सकेनन । भैरवले निकै आक्रमक खेल प्रस्तुत गरेको थियो । भैरवका खेलाडीले पटक पटक प्रहार गरेको बललाई सम्पूर्णका गोलकिपरले निकै कौशलतापुर्वक गोल हुनबाट जोगाएका थिए ।
खेल सकिनु भन्दा ६ मिनेट अगाडि भैरवका खेलाडी बिज्ञान गुरुङले अर्को एक गोल थपेर टिमलाई बिजयी बनाउन सफल भए ।श्री भैरव युवा क्लब सिद्धार्थनगर–१ नयाँगाउँ, रानीगाँउको आयोजनामा पक्लिहवा माध्यामिक बिद्यालय सिद्धार्थनगरका जेहेन्दार तथा बिपन्न बिद्यार्थीहरुको सहयोगार्थ यो प्रतियोगिता सञ्चालन गरिएको हो । नेपाल र छिमेकी राष्ट्र भारतमा समेत उत्कृष्ट खेल प्रदर्शन गर्दै फुटबलमा योगदान गरे बापत गरेका पूर्व खेलाडीहरू चेतन गुरुङ्ग, अशोक गुरुङ्ग, किशन थापा, श्याम गुरुङ्ग, अशोक राना (बाङ्ग) तथा बुद्धिराम नेपालीलाई आयोजक क्लवले सम्मान गरेको छ ।
म्यान अफ दि म्याच सम्पूर्णका सुगथम ठकुरी, बेष्ट स्ट्राइगर बिजेता टिमका मनिष थापा, वेष्ट डिफेन्डर बिजेता टिमका सुजित चौधरी, वेष्ट मिडफिल्डर बिजेता टिमका बिज्ञान गुरुङ, वेष्ट गोलकिपर सम्पूर्णका सरोज पुन, वेष्ट कोचमा सम्पूर्णका कृष्ण गुरुङ र् प्रतियोगिाता भरिका उत्कृष्ट खेलाडी सम्पूर्णका किरण पुन पुरष्कृत भएका थिए ।
बिजयी टिम तथा खेलाडीलाई अखिल नेपाल फुटवल संघका केन्द्रिय उपाध्यक्ष दीर्घबहादुर केसी, सिद्धार्थनगर नपा–१ का वडा अध्यक्ष उज्वल पोखरेल, २ का अध्यक्ष छेदीलाल श्रीबास्तव प्रतियोगितालाई प्रायोजन गरेका रुद्राक्ष मार्टका अमित गुप्ता, आयोजक भैरव युवा क्लब, सिद्धार्थनगर–१, नयाँगाउँका अध्यक्ष याम बहादुर थापा (माईला), खेल संयोजक तेजेन्द्र गुरुङ (शक्ति) लगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।






