वीरगञ्जमा चिनियाँ नागरिकको अबैध कारोवार, पर्यटक भिसाको चरम दुरुपयोगः एकता अभियानको आरोप

२०८२ श्रावण २४, शुक्रबार
पढ्ने समय : 2 मिनेट

साउन २३
पर्साको सदरमुकाम विरगञ्जमा चिनियाँ नागरिकहरु भिसाको चरम दुरुपयोग गरेर अबैध रुपमा व्यापार संचालन गरिरहेको भन्दै राष्ट्रिय एकता अभियानले सम्बन्धीत निकायको ध्यानाकर्षण गराएका छन् ।
वीरगञ्जको आदर्शनगरमा सञ्चालित “रेनरेनले सुपरमार्केट” मा चिनियाँ नागरिकहरूद्वारा भिसाको दुरुपयोग गर्दै अवैध रूपमा व्यापार सञ्चालन गरिरहेको आरोप एकता अभियानले लगाएको छ । अभियानका अध्यक्ष विनय यादवले प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र बुझाउँदै स्थानीय प्रशासनको गम्भीर ध्यानाकर्षण गराएका हुन् ।


अभियानद्वारा प्रजिअलाई बुझाइएको ज्ञापनपत्रमा स्थानीय व्यापारी देवकी अग्रवालको घरमा सञ्चालित सुपरमार्केटमा दुई जना चिनियाँ नागरिक— जियांग लि र एन मिङ प्रत्यक्ष रूपमा बिक्री काउन्टरमै बसेर व्यापार गरिरहेको पाइएको छ । यद्यपि पसलको कागजी स्वामित्व नेपाली नागरिक तिलक बहादुर खड्काको नाममा रहेको छ, तर वास्तविक सञ्चालन र सम्पूर्ण लगानी चिनियाँ नागरिककै रहेको रहस्य खुलेको उल्लेख रहेको छ ।
राष्ट्रिय एकता अभियानले यसलाई चार तहमा गम्भीर समस्या उत्पन्न हुने ठहर गरेको छ ।
–स्थानीय व्यापारमा असरः नेपाली व्यापारीहरू घाटामा चलिरहेका बेला विदेशीले महँगो भाडामा व्यापार गर्नु अस्वाभाविक भएको उल्लेख गरिएको छ ।
–सीमा सुरक्षामा खतराः नेपाल भारतसँगको खुला सीमाको फाइदा उठाउँदै वीरगञ्ज जस्तो संवेदनशील क्षेत्रमा यस्ता गतिविधि हुनाले सुरक्षा चुनौती खडा गरेको बताइएको छ ।
–भिसा दुरुपयोगः पर्यटक भिसामा आएर प्रत्यक्ष व्यापार गर्नु कानुन विपरीत भएको र पछि व्यापार भिसामा स्वामित्व लुकाएर सञ्चालन गर्नु कानुनी छिद्रको दुरुपयोग भएको जनाइएको छ ।
–कानुनी प्रणालीमा चुनौतीः नेपालीको नाममा दर्ता गरिए पनि चिनियाँहरूले व्यापार सञ्चालन गर्नुले कानुनी प्रक्रियाको अवहेलन भएको उल्लेख छ ।
प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको ज्ञापन पत्रमा मुख्य रुपमा यी चारवटा मागहरु राखेर भविष्यमा उत्पन्न हुने असहज परिस्थिति अघि त्यस्ता कार्यलाई समयमै नियमन गरी विदेशी नागरिकलाई सीमावर्ती क्षेत्रबाट पठाउनु नै राम्रो रहेको बताइएको छ
चिनियाँ नागरिकहरूको भिसा तथा कागजात छानबिन गरी अवैध पाइएमा कारबाही, व्यवसायको वास्तविक लाभ प्राप्तकर्ता (बेनिफिसियल अनर) को पहिचान गरी कम्पनी खारेजी वा रोक लगाउ, सीमा क्षेत्रमा निगरानी प्रणाली सुदृढीकरण, र स्थानीय व्यापारीको संरक्षण र विदेशी व्यापार नियन्त्रणको नीति कडाइ गर्नु जस्ता मागहरु सारेका छन् ।
अभियानका अध्यक्ष विनय यादवले राष्ट्रको स्वाभिमान, स्थानीय व्यवसायको अस्तित्व, र भूराजनीतिक संवेदनशीलता मध्यनजर गर्दै तत्काल ठोस कदम चालिनु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय