साउन ५
नेपाल र भारतबीचको ऐतिहासिक रोटी–बेटी र धार्मिक सम्बन्धलाई अझ प्रगाढ बनाउन वीरगञ्जमा आयोजित ‘इन्डो नेपाल इन्टलेक्चुअल गेदरिंग’ कार्यक्रममा सहभागी नेताहरूले भारतविरोधी गतिविधिबाट सतर्क रहन आह्वान गरेका छन्।
कानुन, न्याय तथा संसदीय मन्त्री अजयकुमार चौरसियाले नेपालबाट भारतविरुद्ध बढिरहेका आपराधिक गतिविधि चिन्ताजनक भएको उल्लेख गर्दै सीमानाकामा कडाइ हुनु स्वाभाविक भएको बताए। उनले भने, “कतिपयलाई हामी जानी–नजानी जातधर्मको नाममा आश्रय दिन्छौं, तर ती नै पछि भारतमा गएर आतंककारी गतिविधि गर्छन्, त्यसकारण हामी सतर्क रहनुपर्छ।” चौरसियाले नेपाल–भारतको धार्मिक, वैवाहिक, सांस्कृतिक र आर्थिक सम्बन्ध सनातनकालदेखि अद्भुत रहेको बताउँदै कुनै शक्तिले पनि यो सम्बन्ध टुटाउन नसक्ने दाबी गरे।जनमत पार्टीका उपाध्यक्ष तथा पूर्वमन्त्री अब्दुल खाँले नेपाल–भारत सम्बन्ध मानव सभ्यतासँगै सुरु भएको वैदिक सनातन सम्बन्ध भएको स्मरण गर्दै मुस्लिम समुदायलाई सतर्क रहन र युवाहरूलाई धार्मिक कुरासँगै दुनियाँबारे पनि शिक्षित गर्न आग्रह गरे। उनले भने, “हाम्रो कुरानले पनि भन्छ, छिमेकीलाई दुःख दिनु हुँदैन, नेपालीहरूको कुनै गतिविधिबाट भारतलाई हानि पुग्नु हुँदैन।”
भारतका राज्यसभा सदस्य मौलाना खालिद शिद्धिकीले नेपाली मुस्लिमहरूको पहिचानलाई पाकिस्तान वा बंगलादेशसँग गासेर हेर्नु गलत भएको बताए। उनले नेपालका मुस्लिमहरूको धार्मिक सम्बन्ध भारतसँग रहेको प्रष्ट पार्दै सीमा सुरक्षामा नेपालले सहयोग गर्नुपर्ने धारणा राखे।कार्यक्रममा पूर्वमुख्यमन्त्री लालबाबु राउत, भारतीय महावाणिज्य दूतावासका कन्सुलर संजय कुमार, वीरगञ्जका उपमेयर इम्तियाज आलम, पूर्वमन्त्री करिमा वेग, पूर्वराजदूत विजयकान्त कर्णलगायतको उपस्थिति थियो। आयोजक नेपाल भारत मिल्ते कन्सिल सेन्टरका अध्यक्ष शमिम मियाँ अंसारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल–भारत सम्बन्धलाई सुदृढ र शान्तिपूर्ण बनाउन धार्मिक नेताहरूको भूमिका अपरिहार्य रहेको धारणा सहभागीहरूले राखेका थिए।






