नेपाली पर्यटन पेसाकर्मीलाई चिनियाँ भाषा प्रशिक्षण

२०८२ जेष्ठ २४, शुक्रबार
पढ्ने समय : 2 मिनेट

 

जेठ २३
नेपालका पर्यटन पेसाकर्मीका लागि चिनियाँ भाषा प्रशिक्षण सुरु भएको छ ।
नेपाल पर्यटन बोर्ड र नेपालस्थित चिनियाँ दूतावासको संयुक्त आयोजनामा बोर्डको सभाहलमा शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले चिनियाँ भाषा प्रशिक्षणको सातौं ब्याचको औपचारिक उद्घाटन गरे ।
नेपालका पर्यटन पेसाकर्मी तथा व्यवसायी लक्षित गर्दै सुरु गरिएको भाषा प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै मन्त्री पाण्डेले चिनियाँ भाषा प्रशिक्षण कार्यक्रमले नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
‘चिनियाँ भाषाको ज्ञानले नेपाल–चीन सम्बन्धमा सेतुको काम गर्ने छ र यसले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिएको छु,’ मन्त्री पाण्डेले भने, ‘भाषिक ज्ञान हुनु भनेको सम्पत्ति थप्नु जस्तै हो । जति धेरै भाषिक ज्ञान हासिल गर्न सकियो, त्यति नै योग्यता अभिवृद्धि भएको ठान्नुपर्छ । भाषामा दक्ष हुँदा अर्को व्यक्तिसँगको निकटता कायम गर्ने विषयमा सहजता सिर्जना गर्न ठूलो भूमिका निर्वाह गर्छ ।’
चिनियाँ भाषा अनुवादक हुनु भनेको सिपयुक्त जनशक्ति निर्माण हुनु पनि भएको उनले बताए । ‘चिनियाँ भाषा प्रशिक्षण लिनेहरू सांस्कृतिक दूतका रूपमा काम गर्न सक्नुहुन्छ । यसले पर्यटन विकासमा सहयोग पु¥याउने र स्वरोजगार पनि बनाउँछ ।’
मन्त्री पाण्डेले कार्यक्रममा सहभागी चिनियाँलाई नेपालको प्रकृति हेर्न आह्वान गर्नसमेत आग्रह गरेका छन् । ‘चीनले नेपाल पर्यटन वर्षसमेत घोषणा गरेकाले म चिनियाँ साथीहरूलाई नेपालको प्रकृति हेर्न आउन पनि आग्रह गर्दछु । नेपाल जति हेरे पनि पुग्दैन, हेरिरहुँ लाग्छ,’ उनले भने ।
जलवायु परिवर्तनका कारण नेपालका हिमालमा हिउँ कम देखिने गरेको उल्लेख गर्दै जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनका काम पनि भइरहेको मन्त्री पाण्डेले बताए ।

त्यसैगरी कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छेन सोङले नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७५औं वर्षगाँठका अवसरमा सातौं भाषा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको बताएका छन् ।
‘नेपाल आएदेखि म तेस्रो पटक भाषा प्रशिक्षण कार्यक्रमको उद्घाटनमा पुगेको छु । नेपाल आउने चिनियाँले आफ्नो भाषामा संवादको अपेक्षा गर्ने भएकाले नेपाली पर्यटनको गुणस्तरमा भाषा प्रशिक्षण कार्यक्रम सहयोगी बन्नेछ,’ उनले भने ।
राजदूत सोङले चीन विश्व पर्यटन मोडेललाई पुनर्संरचना गर्ने शक्ति राष्ट्रका रूपमा रहेको बताए । ‘नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकले सामान खरिद गर्न वा पर्यटकीय गन्तव्य हेर्नमात्र होइन, स्थानीय संस्कृतिको अनुभव गर्न र आफ्नो भाषामा संवाद कायम गर्न चाहन्छन् । चिनियाँ भाषाको ज्ञानले नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकलाई नेपालको ऐतिहासिकता बुझाउन र सेवाको गुणस्तरलाई दीर्घकालीन उत्कृष्टतामा लैजान सहयोग पु¥याउने छ,’ उनले भने ।

चिनियाँ भाषाको ज्ञान हुनु भनेको विश्वको सबैभन्दा ठूलो पर्यटन बजारको लाभ हासिल गर्ने सुवर्ण अवसर भएको समेत राजदूत सोङले बताए ।

त्यसैगरी पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) हिक्मतसिंह ऐरले चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त पहलमा भएको चिनियाँ भाषा प्रशिक्षण महत्त्वपूर्ण पहल भएको बताएका छन् ।
‘हामीले चिनियाँ भाषा प्रशिक्षण सुरु गर्नु भनेको भाषिक तालिमको सुरुवात मात्र होइन, यो नेपाल–चीनबीचको सम्बन्ध सेतुलाई बलियो बनाउनु पनि हो,’ उनले भने ।

निमित्त सीईओ ऐरले चिनियाँ भाषा प्रशिक्षणले नेपालका पर्यटन पेसाकर्मीको सिप विकास र क्षमता अभिवृद्धि गर्न ठूलो भूमिका खेल्ने छ ।
नेपालमा चिनियाँ भाषा प्रशिक्षणको विगतका ६ वटा ब्याचबाट २ सय ४० जना प्रशिक्षित भइसकेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण क्रममा नेपाल–चीनबीचको सम्बन्ध बलियो बनाउन नेपालका पर्यटन पेसाकर्मीलाई चिनियाँ भाषा प्रशिक्षण गराउने सहमति भए अनुरूप सन् २०१६ देखि नेपालमा चिनियाँ भाषा प्रशिक्षण कार्यक्रम सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय