जेठ १०
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज शनिबार राति चीनको औपचारिक भ्रमणका लागि प्रस्थान गर्दैछिन्। उनी एयर चाइनाको उडान सीजेड ३०६८ बाट ग्वाङ्झाओ हुँदै चीनको राजधानी बेइजिङ पुग्ने कार्यक्रम तय गरिएको छ। भण्डारी आइतबार बिहान ११ः५५ बजे बेइजिङ अवतरण गर्ने कार्यक्रम छ।
दश दिने यस भ्रमणमा पूर्वराष्ट्रपति भण्डारीले दुई प्रमुख अन्तर्राष्ट्रिय कार्यक्रममा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्नेछिन्। पहिलो कार्यक्रम सोमबार चिनियाँ कम्युनिष्ट पार्टीले आयोजना गरेको छिमेकी मुलुकका राजनीतिक दलहरूबीचको संवाद हो भने दोस्रो कार्यक्रम शुक्रबार चीनको गान्सु प्रान्तमा हुने चौथो ’सभ्यता संवाद’ शृंखला अन्तर्गतको अनुभव आदानप्रदान तथा पारस्परिक सिकाइसम्बन्धी नागरिकस्तरको जमघट हुनेछ।
भ्रमणको क्रममा भण्डारीले चिनियाँ कम्युनिष्ट पार्टीका वरिष्ठ नेताहरू र चीन सरकारका उच्चपदस्थ अधिकारीहरूसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
पूर्वराष्ट्रपति भण्डारीको भ्रमण टोलीमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, एमाले विदेश विभाग प्रमुख रघुवीर महासेठ, एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, प्रतिनिधिसभा सदस्य देवीप्रकाश भट्ट र पूर्वसांसद गोमा देवकोटा लगायत १४ सदस्यीय प्रतिनिधिमण्डल सहभागी छ।
भण्डारीको यो भ्रमणलाई राजनीतिक दृष्टिले पनि चासोका साथ हेरिएको छ, विशेष गरी नेपाल–चीन सम्बन्ध, पूर्वराष्ट्रपतिको कूटनीतिक सक्रियता र एमालेको सहभागिताको सन्दर्भमा।






