त्रिशूलीमा हराएका दुई बस खोजिदिन चीन सरकारसँग आग्रह

२०८१ श्रावण १६, बुधबार
पढ्ने समय : < 1 मिनेट

साउन १६
त्रिशूलीमा बेपत्ता भएका बस खोजी दिनका लागि नेपाल सरकारले चीन सरकारसँग आग्रह गरेको छ । गृह मन्त्रालयले त्रिशूलीमा हराएका दुई बस खोजिदिन चीन सरकारलाई आग्रह गरेको हो ।
यसअघि नेपालले भारत सरकारलाई पनि बस खोजिदिन आग्रह गरेको थियो । सो आग्रह अनुसार भारतीय प्राविधिक टोली नेपाल आएर त्रिशूलीमा बस खोजबिन गरेको थियो तर फेला नपरेपछि फर्केर गएको छ । अहिले सरकारले चीनसँग पनि कुराकानी भइरहेको बताएको छ ।
गृह मन्त्रालयका सहसचिव एवं विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख डा.भीष्म भुसालले नेपालस्थित चिनियाँ राजदूतावाससँग अनौपचारिक कुराकानी भइरहेको र सकारात्मक कुरा आएपछि औपचारिक रूपमा पत्र नै पठाउने बताए ।
उद्धारका लागि चाहिने सामाग्रीका लागि सरकारले चीनलाई पत्र नै पठाएको उनले बताए । विपद् व्यवस्थापन तथा उद्धारका लागि चाहिने ‘सामाग्री सहयोग गर्न चीनलाई औपचारिक रूपमै आग्रह गरिएको छ तर त्रिशूलीमा हराएको बस खोज्न औपचारिक पत्र नपठाए पनि अनौपचारिक कुराकानी भइरहेको छ’ उनले भने ।

नेपालका लागि चिनियाँ राजदूत चेन सोङले साउन ७ गते गृहमन्त्री रमेश लेखकलाई भेटेका थिए । सो भेटको क्रममा पनि विपद् व्यवस्थापनका लागि चीन सरकारसँग सहयोगका विषयमा कुराकानी भएको थियो । गृहमन्त्री लेखकले पनि चीनबाट नेपाललाई विपद् व्यवस्थापनमा उद्धारका लागि चाहिने सामाग्री सहयोग गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय