बिम्स्टेकका परराष्ट्रमन्त्रीहरुको ‘रिट्रिट’ दिल्लीमा सुरू ६ देशबाट परराष्ट्रमन्त्री सहभागी हुँदा नेपालको प्रतिनिधित्व गर्दै परराष्ट्रसचिव

२०८१ असार २८, बिहीबार
पढ्ने समय : < 1 मिनेट

 

असार २७
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) का परराष्ट्रमन्त्रीहरुको ‘रिट्रिट’ भारतको नयाँ दिल्लीमा सुरू भएको छ।
दुई दिनसम्म चल्ने ‘रिट्रिट’मा नेपाल बाहेक अरु सबै सदस्य देशका परराष्ट्रमन्त्री सहभागी भएका छन्। नेपालमा भने पछिल्लो राजनीतिक परिवर्तनका कारण परराष्ट्र सचिव सेवा लम्सालले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेकी छिन्।
‘रिट्रिट’को सुरुवात गर्दे भारतका विदेशमन्त्री एस जयशंकरले आफ्ना धराणा राखेका थिए। उनले ‘रिट्रिट’मा सहभागी सदस्य राष्ट्रका प्रतिनिधिहरूलाई बिम्स्टेकलाई अगाडि बढाउनेबारे खुल्लारुपमा आफ्नो धारणा राख्न आग्रह गरेका थिए। आजको छलफल बिम्स्टेक सहकार्यप्रति नयाँ उर्जा, स्रोत र प्रतिवद्धताको संचार गर्न उपयोगी हुने जयशंकरले विश्वास व्यक्त गरे।
‘रिट्रिट’मा बिम्स्टेकको प्रारुपभित्र रहेर क्षेत्रीय चासो, सहयोग एवं साझेदारीका विषयलाई अझ सुदृढ बनाउने सम्बन्धमा छलफल हुने छ। ‘रिट्रिट’ सुरु भएसँगै सदस्य देशका परराष्ट्रमन्त्रीहरूले आफ्नो धारणा राख्न सुरु गरेका छन्। नेपालको तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले धारणा राख्ने छिन्।

रिट्रिटमा सहभागी हुने बिम्स्टेक राष्ट्रका परराष्ट्रमन्त्री एवं प्रतिनिधिमण्डलका प्रमुखहरुले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग संयुक्त रुपमा शिष्टाचार भेट समेत गर्नेछन्।
बिम्स्टेकका परराष्ट्रमन्त्रीहरुको पहिलो ‘रिट्रिट’ अघिल्लो वर्ष थाइल्याण्डको बैंककमा भएको थियो। ‘रिट्रिट’बाटै बिम्स्टेकको आगामी शिखर सम्मेलनका एजेन्डा तय गरिने छ।

सन् १९९७ मा स्थापना भएको बिम्स्टेकमा भारत, थाइल्याण्ड, म्यान्मार, बंगलादेश, नेपाल, श्रीलंका र भुटान सदस्य रहेका छन्।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय