चीन उड्नुअघि एमाले टोलीलाई ओलीले भने– उता सिकेको कुरा नेपालको विकासमा जोड्नू

२०८१ असार १२, मंगलवार
पढ्ने समय : < 1 मिनेट

असार ११

चीन भ्रमणका जान लागेको नेकपा एमालेको टोलीलाई अध्यक्ष केपी शर्मा ओलीले अभिमुखिकरण (ओरेन्टेसन) दिएका छन्। सोमबार नेकपा एमालेको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा ओलीले चीनमा सिकेर आएका कुरा नेपालको बिकासमा कसरी जोड्ने भन्नेबारे अभिमुखिकरण दिएका हुन।

चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागको निमन्त्रणामा एमाले उपमहासचिव विष्णु रिमाल नेतृत्वको २९ सदस्यीय टोली मंगलबार साँझ चीन जाँदै छ। टोली नेता रिमालले अन्तर्राष्ट्रिय भ्रमणमा जाँदा एमालेको निश्चित प्रोटोकल भएको भन्दै अध्यक्षले त्यसबारे ओरेन्टेशन दिएको बताए।

‘अन्तर्राष्ट्रिय भ्रमणमा जाँदा भ्रमण टोलीले पालना गर्नुपर्ने प्रोटोकल हुन्छ हाम्रो पार्टीमा,’ उनले भने, ‘त्यतिकै हामी कसैलाई पनि जान दिँदैनौं। चीनमा झन प्रोटोकलको ख्याल गरिन्छ। त्यसबारे अध्यक्षले ओरेन्टेशन दिनु भएको हो।’
चीनको १० दिने भ्रमणमा जाने लागेको रिमाल नेतृत्वको एमाले टोलीले चीनको बेइजिङनजिक बनेको नयाँ स्मार्ट सहर सीयोनजनको भ्रमण गर्ने छ। त्यस्तै टोलीले चीनको अफेय र युनान प्रान्तको पनि भ्रमण गर्ने छ। ‘हामी सिक्न जाने हो,’ अध्यक्ष ओलीको टोलीलाई निर्देशन थियो, ‘सिकेर आएको कुरा हाम्रो विकासमा कसरी जोड्न सक्छौं भन्ने पनि विचार गर्नुहोला।’

रिमाल नेतृत्वको टोली असार २२ गते नेपाल फर्किनेछ।

त्यसअघि एमाले नेता अन्जान शाक्यको नेतृत्वमा पनि एउटा टोली चीन गएको थियो। जेठ २९ गते गएको टोलीले चीनको युनान र शानडोङ प्रान्तको भ्रमण गरेर असार ७ गते नेपाल फर्किएको थियो।
प्रतिनिधिमण्डलमा एमालेका साथै माओवादी केन्द्र, जनता समाजवादी, नेकपा एकीकृत समाजवादी, नेकपा माले र नेकपा गरी ६ वटा पार्टीबाट २९ जनाको सहभागीता रहेको थियो।

भ्रमणको अनुभव सुनाउँदै शाक्यले नेपालको प्रस्तुतीलाई चीनले रुचाएको बताइन्। ‘हाम्रो भ्रमण राम्रो भयो,’ उनले भनिन्, ‘हाम्रो टोलीले दिएको प्रस्तुतीलाई चीनले रुचाएको थियो। भ्रमण एकदमै राम्रो भयो।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय