चीनको छुङ्किङसँगको सहकार्यमा लुम्बिनी प्रदेशको विकास हुनसक्छः सभामुख घर्तीमगर

२०८१ बैशाख २७, बिहीबार
पढ्ने समय : < 1 मिनेट

 

बैशाख २७
चीन भ्रमणमा रहेका लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगर नेतृत्वको प्रतिनिधि मण्डल र छुङ्किङ म्युनिसिपल पिपुल्स कांग्रेसका प्रतिनिधिबीच भेटबार्ता भएको छ । छुङ्किङमा भएको भेटबार्तामा संसदीय अभ्यास तथा अनुभव आदानप्रदान, छुङ्किङ र लुम्बिनी प्रदेशको बिधायिकी सम्बन्धि छलफल भएको थियोे । लुम्बिनी प्रदेशका सभामुख घर्तीमगरले आफू पहिलो पटक छुङ्किङ आएको बताउँदै छुङ्किङको आर्थिक र सामाजिक विकासमा हासिल भएका उत्कृष्ट उपलब्धिहरू देखेर खुशी भएको बताए ।
उनले जनताको व्यवस्थित राजनीतिक सहभागिताको अनुभव सिक्न लायक भएको पनि जनाए । चीनसँगको सहकार्यमा नेपाल र लुम्बिनी प्रदेशको राम्रो विकास हुने विश्वास व्यक्त गरे । छुङ्किङ म्युनिसिपल पिपुल्स कांग्रेसका स्थायी समितिका निर्देशक (सभामुख) वाङ जिओङले लुम्बिनी प्रदेश सभाका प्रतिनिधिमण्डललाई छुङ्किङमा स्वागत गर्दै छुङ्किङको आधारभूत अवस्थाको संक्षिप्त जानकारी गराए ।

गत महिना महासचिव सी चिनफिङले छुङ्किङको भ्रमण गरेको र आर्थिक तथा सामाजिक विकासका बारेमा रिपोर्टहरू सुनेको उनले बताए । उनले महासचिव सी चिनफिङका निर्देशनहरूको कार्यान्वयनलाई दृढतापूर्वक बढावा दिएको बताउँदै सहरका सबै तहका जन–काङ्ग्रेसले पार्टीको समग्र नेतृत्वलाई पालना गरेको जनाए । हालैका वर्षहरूमा, छुङ्किङ र नेपालबीचको सहयोग तथा अनुभव आदानप्रदान झन् बढ्दै गएको बताउँदै उनले विधायिका निकायहरूबीच मैत्रीपूर्ण सहयोग रहने प्रतिबद्धता जनाए ।

भेटबार्तामा महानगरीय जन काँग्रेसको स्थायी समितिका उपाध्यक्ष (उपसभामुख) चाओ शिछिङ्, महासचिब चोउ शाओचङ्, छुङ्किङ महानगरीय जनकाँग्रेसको जनजातीय, धार्मिक, प्रवासी चिनियाँ र विदेश मामिला समिति उपसभापति चाङ् सुएमिन, छुङ्किङ महानगरीय सरकारको विदेश मामिला विभागका महानिर्देशक वाङ् वेन सहभागी थिए ।

लुम्बिनी प्रदेशका सभामुख घर्तीमगर, महिला नेतृ एवं सभामुखकी धर्मपत्नी दिलकुमारी रोका, उप–सभामुख मेनुका खाँण केसी, नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेत तुलसीप्रसाद चौधरी र प्रदेशसभा सचिव दुर्लभकुमार पुन भेटबार्तामा सहभागी थिए । भेटमा सभामुख घर्तीमगरले छुङ्किङ म्युनिसिपल पिपुल्स कांग्रेसका पदाधिकारीहरुलाई लुम्बिनीको भ्रमणका लागि निम्तो दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय