मंसिर ५
नेपालका २६ जना कर्मचारीहरु भारतीय विदेश मन्त्रालय अन्तर्गतको सुषमा स्वराज विदेश सेवा संस्थानमा पहिलो विशेष प्रशिक्षण कार्यक्रममा सहभागी हुने भएका छन् ।
जसमा नेपालका १० प्रमुख मन्त्रालय र विभिन्न विभागका २६ जना नेपाली कूटनीतिज्ञसहित अन्य कर्मचारीहरु छन् । उनीहरुले मंसिर ५ देखि १५ सम्म प्रशिक्षण लिनेछन् ।
नेपाली टोलीमा परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय, शहरी विकास मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तथा रेल विभागका प्रतिनिधिहरु छन।् ।
काठमाडौंस्थित भारतीय दूतावासका अनुसार प्रशिक्षण कार्यक्रममा वैश्विक राजनीतिक तथा आर्थिक सान्दर्भिकता, व्यापार तथा कनेक्टिभिटी, जलवायु परिवर्तन तथा मानवीय सहायता, विकास साझेदारी, साझा संस्कृति र सम्पदा विषयमा समेटिएको छ । नयाँ दिल्ली बाहिरका पर्यटकीय तथा ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण सहर र ठाउँको भ्रमण समावेश गरिनेछ ।
काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले मंगलबार २६ जना नेपाली कूटनीतिज्ञ तथा अधिकारीसँग भारत जानुअघि अन्तरक्रिया गरेका थिए ।






