जेठ २७
चिनियाँ प्रान्त सिजाङ्ग (तिब्बत) को निङ्च शहरमा भोलि हुने ड्र्यागन डुंगा महोत्सवमा सहभागी हुन नेपाली टोली त्यहाँ पुगेको छ । उक्त महोत्सवमा पहिलो पटक नेपाल सहभागी बन्न लागेको हो ।
२० जनाभन्दा बढीको टोलीमा पोखरा महानगरपालिका र पर्यटन बोर्डका प्रतिनिधिहरु समावेश छन् ।
टोलीको नेतृत्व नेपाल पर्यटन बोर्डका सदस्य मदन आचार्यले गरेका छन् । यो महोत्सव चिनियाँ परम्परागत क्यालेण्डरको पाँचौं महिनाको पाँचौं दिन आयोजना गर्ने प्रचलन छ । यो चीनका चार प्रख्यात परम्परागत पर्व तथा महोत्सवमध्येको एक हो ।
ड्र्यागन डुंगा महोत्सव चिनियाँहरुले मानव जीवन र मृत्युको स्मरणमा परापूर्वकालदेखि मनाउने गर्दछन् । यसलाई चिनियाँहरुले पारिवारिक र समुदायको पुनर्मिलनको रुपमा पनि लिने गरेका छन् ।