जीपी कोइराला श्वासप्रश्वास केन्द्र र ट्रमा सेन्टरलाई सुविधासम्पन्न बनाउन चाँडै काम थाल्ने भारतको प्रतिबद्धता

२०८१ आश्विन २१, सोमबार
पढ्ने समय : < 1 मिनेट

असोज २१

भारत सरकारले तनहुँ, शुक्लागण्डकी नगरपालिकाको बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास केन्द्रलाई तीन सय शै्याको अस्पताल निर्माणका लागि चाँडै सम्झौता गर्ने बताएको छ।

भारत भ्रमणमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र भारतीय जनता पार्टीका अध्यक्ष एवं स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी नड्डाबीच नयाँ दिल्लीस्थित निर्वाण भवनमा भएको द्विपक्षीय वार्ताका क्रममा भारतले यस्तो प्रतिबद्धता जनाएको हो।

त्यस क्रममा मन्त्री पौडेलले प्रस्ताव गरेको ट्रमा सेन्टरको स्तरोन्नति र डायलाइसिस सेवा थप्नका लागि आवश्यक सहयोग पनि गर्ने मन्त्री नड्डाले प्रतिबद्धता जनाए।
यसैगरी, सर्पदंशका बिरामीको उपचार र डिजिटल हेल्थ अभियान कार्यान्वयनका लागि सघाउन स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले गरेको आग्रहमा पनि भारतीय समकक्षी नड्डाले सकारात्मक प्रतिक्रिया दिएका छन्। अब केही समयमा यसबारे द्विपक्षीय समझदारी गर्ने स्वास्थ्य सेवा विभागका महानिर्देशक डा विकास देवकोटाले जानकारी दिए।
मन्त्री पौडेलले नेपाल भ्रमणका लागि दिएको निम्तोसमेत भारतीय समकक्षी नड्डाले स्वीकारेका छन्।

‘नेपालको स्वास्थ्य पूर्वाधार विकासमा भारतले महत्त्वपूर्ण योगदान दिएको छ,’ भेटपछि मन्त्री पौडेलले भने, ‘भारतीय पक्षबाट प्राप्त सहयोग प्रतिबद्धताले सम्बन्ध अझ प्रगाढ बनाउन मद्दत गर्नेछ।’

विश्व स्वास्थ्य संगठनको क्षेत्रीय सम्मेलनका लागि भारतमा रहेका मन्त्री पौडेलले आज साँझ सम्बोधन गर्ने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय