आर्चरी, उसु र कुस्तीमा सहयोग गर्न चीन तयार

२०८१ भाद्र २५, मंगलवार
पढ्ने समय : < 1 मिनेट

भदौ २५
नेपालमा परम्परागत आर्चरी, उसु र कुस्ती खेलमा सहयोग गर्न चीन तयार रहेको देखिएको छ । चीनको युन्नानस्थित स्पोर्ट इन्स्टिच्युट अफ युन्नान विश्वविद्यालय, ट्रेडिसनल आर्चरी एशोसिएसन युन्नान र खुन्मिङ जेन्जी आर्चरी क्लबले उक्त प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाल उसु महासंघ, मार्सल आर्ट अर्गनाइजेसन अफ नेपाल र राष्ट्रिय खेलकुद परिषद्का प्रतिनिधिसँग चीनको युन्नानमा भएको भेटमा युन्नान विश्वविद्यालयका प्रमुख तथा पदाधिकारीहरुले यस्तो प्रतिबद्धता जनाएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य तथा नेपाल कुस्ती संघका अध्यक्ष प्रकाशकुमार कुसारीले बताएका छन् ।

छलफलमा नेपाल उसु महासंघका उपाध्यक्ष अभिषेक विक्रम शाह र उपमहासचिव तथा वरिष्ठ प्रशिक्षक राजीव महर्जन पनि सहभागी थिए । छलफलपछि नेपालमा परम्परागत आर्चरी, उसु र कुस्ती खेलको विकासमा सहयोग गर्नेसम्बन्धी दुई पक्षबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा उसु महासंघका तर्फबाट उपाध्यक्ष शाह र ट्रेडिसनल आर्चरी एसोसिएसन युन्नान शाखाका अध्यक्ष कोङ उइझाङले हस्ताक्षर गरेका छन् । जसअनुसार प्रशिक्षकहरुको आदानप्रदान गर्ने, नेपाली खेलाडीलाई प्रशिक्षणका लागि विश्वविद्यालय र एसोसिएसनले अवसर उपलब्ध गराउने, वर्षमा न्यूनतम एउटा कार्यक्रम संयुक्त रुपमा आयोजना गर्ने, नयाँ खेलाडी उत्पादनका लागि आवश्यक सहयोग गर्ने, परम्परागत आर्चरी र उसु तथा कुस्ती खेलको विकासका लागि सांस्कृतिक आदानप्रदान तथा सामाजिक जागरण गर्ने, प्रतियोगिताहरुमा सहभागिता गराउने र खेल जागरण अभियान समेत सञ्चालन गरिने छ ।

उक्त समझदारीले खेलसँगै सांस्कृतिक पर्यटनमा सहयोग पुग्ने उपाध्यक्ष शाहले जानकारी दिए । छलफलमा राखेप सदस्य कुसारीले चीनले नेपालको खेलसँगै खेल पूर्वाधारको क्षेत्रमा निरन्तर सहयोग पुर्याउँदै आएकोमा धन्यवाद व्यक्त गरेका छन् । आगामी दिनमा पनि सहयोग निरन्तर रहने अपेक्षा गरिएको संघले जनाएको छ ।

उपाध्यक्ष शाहका अनुसार विद्यालय तहदेखि नै आर्चरी तथा उसु खेल सिकाउन सकिए एसियाली र दक्षिण एसियाली खेलकुदमा नेपालले राम्रो नतिजा ल्याउन सक्ने विश्वास लिएका छन् । ट्रेडिसनल आर्चरी एशोसिएसनका अध्यक्ष कोङ, वाङ जोङपिन, वाङ फान समेतले नेपाल असल छिमेकी राष्ट्र भएको स्मरण गर्दै दुईपक्षीय सहयोग आदानप्रदानले जनस्तरको सम्बन्ध थप सुदृढ हुने विश्वास लिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय