भदौ १६
रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरले ‘मिसेज लुम्बिनी प्रदेश–२०२४’ (प्रतियोगिता) को आयोजना गर्ने भएको छ । महिला सशक्तिकरण र क्लबको उचाईलाई अझ माथि पुर्याउने उद्देश्यले प्रतियोगिता गर्न लागिएको आइतबार भैरहवामा पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।
कार्यक्रम संयोजक तथा क्लबकी पूर्वअध्यक्ष देवी गुरुङले छात्रा शिक्षा र आईसीयू जडित एम्बुलेन्स सञ्चालनका लागि क्लब अघि बढेको बताइन् । उनले २०८१ भदौ १७ गतेदेखि प्रतियोगिताका लागि फारम वितरण गरिने जानकारी दिइन् । कार्यक्रम संयोजक गुरुङका अनुसार कार्तिक १ गतेदेखि अडिसन सुरु हुनेछ । पहिलो चरणमा रुपन्देहीमा र दोस्रो दाङमा अडिसन हुनेछ । तालिम कार्तिक २३ गतेदेखि सुरु हुनेछ । त्यस्तै प्रतियोगिताको फिनाले मंसिर १५ गते भैरहवामा हुनेछ ।
लुम्बिनी प्रदेशको बासिन्दा भइ २० वर्ष उमेर पूरा भएको विवाहित महिला प्रतियोगितामा सहभागी हुन सक्ने रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगर वर्ष २०२४÷०२५ का अध्यक्ष ओम जैसीले बताए । यो प्रतियोगिता महिलाहरुलाई आफ्नो प्रतिभा देखाउने अवसर पनि भएको अध्यक्ष जैसीले बताए । प्रतियोगितामा सहभागी हुन प्रवेश शुल्क रु. ९ सय ९९ तोकिएको उनले जानकारी दिए ।
‘लुम्बिनी प्रदेशका १२ वटै जिल्लाबाट सहभागी समेट्छौं । भैरहवास्थित काशी सिनेप्लेक्सबाट फारम वितरण हुन्छ । अनलाइन एप खल्तीबाट पनि फारम भर्न सकिन्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायकलाई ल्याउने तयारीमा छौं । फाइनल राउण्डमा निर्णायकको मूल्यांकन र भोटिङ्गको माध्यमबाट प्रतियोगिताको विजेता घोषणा गरिनेछ ।’
प्रतियोगिताको विजेताले क्राउनसहित रु. ५१ हजार, फस्ट रनरअपले रु. ३१ हजार र सेकेण्ड रनरअपले रु. २१ हजार पुरस्कार पाउने जैसीले जानकारी दिए । प्रतियोगिता आयोजना गर्न करिब २३ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै लुम्बिनी प्रेस क्लबकी अध्यक्ष सम्झना शर्माले प्रतियोगिता सफल बनाउन सबैले साथ र सहयोग गर्नुपर्नेमा जोड दिइन् ।
रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरकी क्लब एडमिन सरिता रानाको सचालनमा कार्यक्रम सम्पन्न भएको थियो।