साउन ६
काठमाडौँस्थित भारतीय राजदूतावासका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले भारत र नेपालमा रहेका पवित्र बौद्धस्थलले दुवै देशबिचको साझा सांस्कृतिक सम्पदालाई उदाहरणको रूपमा चित्रण गरेको बताए । आषाढ पूर्णिमाको अवसरमा दूतावासले आइतबार आयोजना गरेको विशेष कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
भगवान् बुद्धको शिक्षाको महत्त्वमाथि प्रकाश पार्दै श्रीवास्तवले शताब्दीयौंदेखि कायम सम्बन्धलाई अघि बढाउँदै बौद्ध धर्म लामो समयदेखि भारत र नेपाललाई जोड्ने एक शक्तिको रूपमा रहेको बताए । कार्यक्रममा नेपालका विभिन्न बौद्ध सम्प्रदाय र गुम्बाका प्रतिनिधिहरूले सहभागिता जनाएका थिए ।
भगवान् बुद्धले उत्तर प्रदेशको सारनाथमा आफ्नो पहिलो पाँच जना तपस्वी चेलालाई आफ्नो पहिलो उपदेश दिएको क्षण नै आषाढ पूर्णिमा हो । बोधगयामा बुद्धत्व प्राप्त गरेपछि भगवान् बुद्धले दिएको यस उपदेशले हामीलाई ‘चार आर्य सत्य’ र ‘आर्य अष्टाङ्गिक मार्ग’ बारे चिनाएको थियो । यस दिनलाई ‘धर्म चक्रको पहिलो फन्को’ को रूपमा पनि चिन्ने गरिन्छ ।
कार्यक्रममा थेरावडा संघ, महायाना संघ र वज्रयान संघले विधिपूर्वक प्रार्थना गरेका थिए। तत्पश्चात् बौद्ध सूत्रबाट प्रार्थनाको वाचन र अर्पण गरिएको थियो ।






