साउन ३
सत्तारुढ नेकपा एमालेका नेता राजन भट्टराईले चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)मा नेपालले सम्झौता गरिसकेको भन्दै अब यसबाट पछाडि हट्न नसकिने बताएका छन्।
बिहीबार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बीआरआईबारे काठमाडौंमा आयोजना गरेको अन्तरिक्रिया कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन।
‘बीआरआईको कुरा आएको छ, हामीले सम्झौता गरिसकेका छौं,’ नेकपा एमालेको परराष्ट्रमामिला विभाग प्रमुख समेत रहेका भट्टराईले भने, ‘सहमति भैसकेको विषयमा अब म तँसित गर्दिनँ भन्न मिल्छ? नजिकको छिमेकी, राइजिङ पावर। त्यो अवस्थामा हामी सहमति गरिसकेको कुराबाट पछाडि हट्न सक्छौं? हामी कदापी सक्दैनौं।’
बीआरआईमा ७ वर्षअघि सम्झौता भएको र अहिले त्यसको कार्यान्वयनबारे चीनले सम्झौता गर्न प्रस्ताव गरेको भन्दै उनले भने, ‘बीआरआईमा पहिले सम्झौता भयो। त्यसपछि फ्रेमवर्क सम्झौता भएको छ। अब कार्यान्वयन योजनामा जाउ भनेर चीनले प्रस्ताव गरिरहेको छ। हामीले त्यसमा आनाकानी गरिरहेको मैले पाएको छु।’
बीआरआईलाई अगाडि बढाउन खोज्दा प्रचण्ड नेतृत्वको सरकारको क्याबिनेट बैठकमा विवाद भएको जानकारी आफूले पाएको भन्दै भट्टराईले बीआरआईलाई खेलाँचीका रुपमा नलिन आग्रह गरे। जुनसुकै दातृ निकाय र दातृ राष्ट्रसँग अनुदानलाई नै नेपालले प्राथमिकता दिने भन्दै भट्टराईले बीआरआईका हकमा पनि त्यो लागू हुने बताए। तर, बीआरआईमा अनुदानका अलवा कमदरको ऋण र ऋण लिन सकिने उनको धारणा छ।






