असार १२
दुवै देशका परराष्ट्रमन्त्री रहने गरी संयुक्त आयोग बनाउन नेपालले गरेको प्रस्तावमा चीन सहमत भएको छ।
काठमाडौंमा मंगलबार सम्पन्न नेपाल र जनवादी गणतन्त्र चीनका परराष्ट्र मन्त्रालयहरूबीचको कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठकमा दुवै पक्ष आयोग बनाउन राजी भएका हुन्।
बैठकपछि जारी नेपालको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा दुवै पक्षले विद्यमान द्विपक्षीय संयन्त्रलाई थप सक्रिय बनाउन र परराष्ट्रमन्त्रीस्तरमा संयुक्त आयोगलगायत नयाँ संयन्त्र स्थापना गर्नुपर्नेमा जोड दिएका उल्लेख छ।
बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व नेपालका तर्फबाट परराष्ट्र सचिव सेवा लम्साल र चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व चीनका उपविदेशमन्त्री सुन वेइडोङले गरेका थिए।भेटका क्रममा दुवै पक्षले नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्धको समग्र पक्षको समीक्षा गर्नुका साथै विगतमा भएका सम्झौता र समझदारीपत्रको कार्यान्वयनमा भएको प्रगति र विगतमा भएका निर्णयहरूको मूल्यांकन गरेका थिए।






