असार १
नेपाल–भारत सीमामा सुरक्षाकर्मीबाट दुव्र्यहारका घटना बढ्दा दुई देशका नागरिकबीचको सम्बन्धमा दरार पैदा भएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । उनीहरूले सीमा समस्या वैज्ञानिक तरिकाले व्यवस्थापन गर्नु पर्नेमा पनि जोड दिएका छन।्
नेपाल–भारत खुल्ला सीमा संवाद समूह सिरहाले बिहीबार सिरहामा आयोजना गरेको ‘नेपाल–भारत खुल्ला सीमा सुमधुर सम्बन्धको आधारशिला’ विषयक अन्तरक्रियामा सहभागीहरुले सो धारणा राखेका हुन् ।
संवाद समूहका केन्द्रीय अध्यक्ष राजिव झाले पछिल्लो समय चेकजाँचको नाममा सर्वसाधारणलाई दुबै देशका सुरक्षाकर्मीबाट दुव्र्यहारका घटना बढेको बताए । चेकजाँचको नाममा दुई देशका नागरिकमाथि हुने अनुचित घटनाहरुले धार्मिक, सांस्कृतिक एवं आर्थिक सम्बन्ध चिसिँदै गएको उनको तर्क छ । ‘खुल्ला सीमाले हुने तस्करी, लागूऔषध ओसारपसार, अपराध प्रहरी प्रशासनले चाहे नियन्त्रण गर्न सक्छन् । तर त्यता तिरभन्दा सर्वसाधारणलाई दुःख दिने नियत देखिन्छ । यस्ता कार्यले दुबै देशको सदियौंको रोटीबेटी सम्बन्धमा दरार पैदा भइरहेको छ,’ उनले भने। सीमामा अपराध तस्करी रोक्न तारजाली गर्नु समस्याको समाधान नरहेको भन्दै खुल्ला रुपमै वैज्ञानिक पद्धति अपनाएर व्यवस्थित गर्न सके पर्यटन प्रवद्र्धन हुने उनको विश्वास छ ।



भारत कम्युनिष्ट पार्टी मालेका नेता भुषण सिंहले खुल्ला सीमा व्यवस्थापनका लागि अभियान चलाउनुपर्ने बताए । सीमा सुदृढीकरण नभए अपराध मौलाउँदै जाने र सुरक्षाकर्मीको व्यवहारले धार्मिक, सांस्कृतिक र आर्थिक सम्बन्धमा थप तिक्तता बढ्ने उनको भनाइ थियो ।
सिरहाका प्रबुद्ध नागरिक समाजका अगुवा डा. रामप्रताप यादवले सीमा सम्बन्धी नीति र कानुनमा सुधार आवश्यक रहेको बताए । दुबै देशले राष्ट्रियता बचाएर तस्करी, अपराध न्यूनीकरण गर्दै सुमधुर सम्बन्ध अनुकुल बनाउनु पर्ने विचार उनको छ ।
प्रोफेसर चन्देश्वर प्रसाद यादवले अपराध न्युनीकरणका लागि सीमा व्यवस्थापनको विषयमा थप मन्थन आवश्यक्ता रहेको बताए।



