दुई दर्जन चिनिया टोली दैलेखमा धमाधम पेट्रोलियम पदार्थ अन्वेषणमा व्यस्त

२०८१ असार १, शुक्रबार
पढ्ने समय : 2 मिनेट

जेठ ३२
मुलुककै गौरवको आयोजना दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम चरणको काम तीव्र गतिमा अघि बढेको छ । लामो समय अड्किएर बसेको कामले गति समातेसँगै दैलेखबासी हर्षित भएका छन् । चिनियाँ र नेपाली टोलीले तीन सातादेखि रातदिन नभनीकन काम गरिरहेको छ । कोरोना महामारी, सडक स्तरोन्नतिलगायत बाधाका कारण रोकिएको काम अबको केही महिनामै सम्पन्न हुने अनुमान लगाइएको छ ।

भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थको अन्वेषणका लागि ‘ड्रिलिङ’ को काम शुरु भइसकेको छ । चीनबाट ठुल्ठूला मेसिन ल्याइएर काम गरिएको छ । झण्डै दुई दर्जन चिनियाँ टोली फिल्डमा छ । चार हजार मीटरसम्म ड्रिल गरिसकेपछि त्यहाँ पेट्रोल भए–नभएको र भए कति परिमाणमा भन्ने थाहा हुने खानी तथा भूगर्भ विभागले जनाएको छ । अहिलेसम्म झण्डै १८० मीटर खनिसकिएको दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए । उनका अनुसार सशस्त्र प्रहरी बलका नायब निरीक्षक (सई) को कमाण्डमा १५ जनाको घेराबारमा खन्ने काम भइरहेको छ ।

टोली जमिनको भाग खनिसकेर पानीको भागमा आइसकेको उनले बताए । ‘यहाँ २४ सै घण्टा काम भइरहेको छ । टोली जमिनको भाग खनिसकेर पानीको भागमा पुगिसकेको छ । सशस्त्रको टोलीले सुरक्षा दिइरहेको छ । यहाँ सबै कच्ची बाटो छ । बर्खा शुरु हुन्छ भनेर पहिले नै आवश्यक मेसिन ल्याइसकिएको छ । सामानको कुनै समस्या छैन । चिनियाँ प्राविधिकसँग नेपाली टोली पनि फिल्डमा खटिएको छ’, उनले भने ।

विभागका सूचना अधिकारी प्रकाश लुइँटेलका अनुसार चीनको सरकारी निकाय चाइना जिओलोजिकल सर्भेअन्तर्गतकै सिबु ड्रिलिङ इञ्जिनियरिङ कम्पनीले काम गरिरहेको छ । भन्छन्, ‘चार हजार मीटर खन्नुपर्ने हो । अबको चारदेखि ६ महिनामा ड्रिल सम्पन्न हुने अनुमान छ । त्यसपछि त्यहाँ पेट्रोलियम पदार्थ भए–नभएको खुल्छ ।’

पहिलो चरणको अन्वेषणात्मक कार्यले दैलेखमा पेट्रोलियम पदार्थ रहेको देखिए पनि आधिकारिक पुष्टि भने भइसकेको छैन । शिरस्थान, नाभीस्थान, धुलेश्वर, पादुकालगायत क्षेत्रमा सदियौंदेखि निरन्तर दीप बलिरहेको हुनाले पेट्रोलियम पदार्थको खानी हुनसक्ने आकलन गरिएको हो । त्यहाँ पानीमाथि समेत आगो बल्ने गरेको छ ।
चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा २०७६ साल असारदेखि त्यहाँ पेट्रोलियम पदार्थको अन्वेषण थालिएको थियो । तर, विभिन्न कारणले बीचमा अलपत्र प¥यो उक्त काम छिटो सम्पन्न गर्न झण्डै ६–७ महिनाअगावै चिनियाँ टोली दैलेख आएर बसेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय