जेठ ३०
नारायणगढ–बुटवल सडक निर्माण कम्पनीले रकमको अभाव भएको भन्दै सडक कालोपत्रे गर्ने काम ठप्प पारेको छ । सडक निर्माणको काम गरिरहेको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशनका अधिकारीहरूले फण्ड सर्टेज को कुरा झिकेर नारायणगढ–बुटवल सडक विस्तारको काम प्रभावित हुनेगरि कालोपत्रेको काम ठप्प पारेका हुन् ।
रकम अभावको कारण चालु सत्रको शुरूमा पनि ६ महिनासम्म सडक निर्माणको काम भएको थिएन । पछि सरकारले ठेक्का तोडने चेतावनी दिएपछि ठेकेदार कम्पनीको मुख्यालयबाट ४ मिलियन डलर रकम पाएको थियो। केही दिन काम गरिएपछि सो रकम समेत सकिएको भन्दै निर्माणको काम रोकेपछि सडक अलपत्र परेको छ ।
चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशनको नेतृत्वमा नारायणगढ–बुटवल सडक विस्तार आयोजनामा भएको ढिलाइको मुख्य कारण रकम अभाव भएको एसियाली विकास बैंक एडीबी सडक निर्देशनालय प्रमुख भुडाराज ढकालले बताएका छन् । उनका अनुसार अहिले निर्माण कम्पनी सग बिटुमिन खरिद गर्नेदेखि लिएर डीजल लगायत अन्य सामाग्री खरिदका लागि फण्ड नभएको बताएका छन् । डीजलका लागि हामीले ग्यारेन्टी बसेर डिजल हालीदिन पर्ने अवस्थामा पुग्न लागेको छ, उनले भने ।
जुलाई १५ सम्म २० किलोमिटर सडक कालोपत्रे भए दाउन्नेमा बाहेक अन्य स्थानमा सडकमा यात्रा गर्ने मानिसलाइ समस्या नहुने उनको भनाइ छ तर यसका लागि निर्माण कम्पनीसंग रकम कै विषयमा तनाव चलिरहेको छ ।
उनका अनुसार रकमअभाव कै कारण१५ किलोमिटर सडकमा डीबीएम राख्न सकेको छैन ।
निर्माण कम्पनीले अहिले सम्म ४० प्रतिशत रकम पाइसकेको छ, त्यो भनेको ७ अरब रूपैया हो ।
ठेक्का तोड्ने तयारी
ढकालका अनुसार निर्माण कम्पनीको यहि रवैया रहे ठेक्का तोड्ने बाहेक अर्काे विकल्प रहदैन । कि ठेक्का तोडने, कि म्याद थप्नेको विकल्प हुदैन तर खर्च गर्ने समय नभएपछि कसरी म्याद थप्ने? त्यो पनि चुनौतीको विषय भइरहेकोछ ।
यसका लागि हायर लेभलबाट पनि कुरा भएको छ । नेपालका लागि चिनिया राजदुतसंग पनि यस विषयमा छलफल भएको बताए ।
उनका अनुसार निर्माण कम्पनीले अबको एक वर्षमा काम सक्ने प्रतिबद्धता गदै आइरहेकोछ। यसको अन्तिम पटक थपिएको म्याद पनि २५ जुलाइमा सकिदै छ ।