लुम्बिनी जेठ २४
चीनको शान्सी प्रान्तीय कङ्ग्रेसका स्थायी समिति उपाध्यक्ष झी होङ र लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामाबीच भेटवार्ता भएको छ । र बिहीबार उनीहरुबीच भेटवार्ता भएको उपाध्यक्षको सचिवालयले जनाएको छ ।
भेटमा उपाध्यक्ष डा. लामाले बुद्ध जन्मस्थल लुम्बिनी पवित्रस्थल भएकाले चीनको शान्सी प्रान्तबाट तीर्थयात्रीहरुलाई बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गराउन आग्रह गरे । उनले लुम्बिनी गुरुयोजनाको बाँकी काम पूरा गर्न आफूहरु लागि परेको बताउँदै लुम्बिनीको विकासका लागि छिमेकी राष्ट्रहरुसँग सहकार्य गर्न तयार रहेको बताए । लुम्बिनी विश्वभरका बौद्ध सम्प्रदाय र शान्तिमार्गीहरुको केन्द्र भएकाले विश्वव्यापी प्रचार गर्नका लागि उपाध्यक्ष लामाको होङसँग आग्रह गरेका हुन् ।
मन्त्री स्तरका झी होङसँगको भेटमा लुम्बिनीको ऐतिहासिक पुरातात्विक स्थलहरुको संरक्षण विकास र प्रवद्र्धन एवं लुम्बिनी गुरुयोजनाको बाँकी काम पूरा गर्ने लगायतका विषयमा पनि छलफल भएको थियो । भेटमा शान्सी प्रान्तीय कङग्रेसका स्थायी समिति उपाध्यक्ष झी होङले आफू बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गर्न पाउदा निकै खुशी भएको बताउँदै आगामी दिनमा सहकार्यका लागि पहल गर्ने प्रतिवद्धता जनाए।
भेटमा शान्सी प्रान्तका तीर्थयात्रीहरुलाई बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमणका लागि प्रोत्साहन गर्ने प्रतिवद्धता समेत भएको कोषका कार्यकारी सदस्य श्याम रोक्काले बताए ।






