भारतीय सहयोगको उच्च प्रभावयुक्त परियोजनाः बैतडीमा विद्यालय शिलान्यास

२०८१ बैशाख २९, शनिबार
पढ्ने समय : 2 मिनेट

बैशाख २९
नेपाल र भारत सरकारबीच भएको नयाँ सम्झौताअनुसार उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयन सुरू गरिएको छ।
यस परियोजना अन्तर्गत भारत सरकारको ३ करोड १० लाख रूपैयाँ आर्थिक सहयोगमा बैतडीको पाटन नगरपालिका–४ मा भूमेश्वर माध्यमिक विद्यालय भवनको शिलान्यास गरिएको छ।


पाटन नगरपालिका प्रमुख गौरीसिंह रावल र काठमाडौँस्थित भारतीय राजदूतावासका प्रथम सचिव अविनाशकुमार सिंहले शुक्रबार संयुक्तरूपमा भवनको शिलान्यास गरेका हुन्।
कार्यक्रममा नगरप्रमुख रावलले नेपालका विकास प्राथमिकताका क्षेत्रमा भारत सरकारले गर्दै आएको निरन्तर सहयोगको प्रशंसा गरे। उनले नयाँ बन्ने भवनले विद्यार्थीको गुणस्तरीय शिक्षण सिकाइमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास पनि व्यक्त गरे।

नेपाल–भारत विकास सहकार्यअन्तर्गत भारत सरकारको अनुदान सहयोगमा विद्यालयलाई आवश्यक अन्य सुविधासहितको दुई तले भवन ब्लक–ए र ब्लक–सी गरी दुई खण्डमा निर्माण हुनेछ।
भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौताअनुसार यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाका रूपमा अघि बढाइनेछ भने पाटन नगरपालिकामार्फत त्यसको कार्यान्वयन गरिनेछ।
भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आएका बखत गत पुसमा २० करोड रूपैयाँसम्मका योजनामा भारतले ‘सिधै सहायता वितरण गर्न सक्ने’ हाई इम्प्याक्ट कम्युनिटी डेभलेपमेन्ट प्रोजेक्ट (उच्च प्रभाव सामुदायिक विकास परियोजना–एचआईसीडीपी) सम्बन्धी सम्झौता भएको थियो।

पुस १९ गते काठमाडौंमा भएको नेपाल–भारत संयुक्त आयोगको बैठकमा तत्कालीन परराष्ट्रमन्त्री एनपी साउद र उनका भारतीय समकक्षी एस. जयशंकरको उपस्थितिमा दुवै देशका अधिकारीहरूले सम्झौता आदानप्रदान गरेका थिए।

यसअघि यस प्रकृतिका योजनामा भारतीय दूतावासले ५ करोड रूपैयाँसम्म सिधै लगानी गर्थ्यो।

सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा ४ सय ९० वटा परियोजना सम्पन्न भइसकेको र ५ सय ५१ भन्दा बढी परियोजना अगाडि बढाइएको दूतावासले जनाएको छ। यीमध्ये बैतडीमा दुईसहित सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा ४० वटा परियोजना रहेको भारतीय दूतावासले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय