असोज १३
लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले छिमेकी मुलुक चीनबाट नेपालले अपेक्षाकृत लाभ लिन नसकेको बताएका छन् ।
चीनको ७४औं राष्ट्रिय दिवसको अवसरमा नेपाल–चीन मैत्री समाज लुम्बिनीले बुटवलमा गरेको अन्तरक्रियामा शेरचनले चीन नेपालको असल र सहयोगी छिमेकी भए पनि नेपालको आफ्नै कमजोरीका कारण अपेक्षाकृत लाभ लिन नसकिएको औंल्याए ।



नेपालको निरन्तरको राजनीतिक अस्थिरता र नेपालका प्रधानमन्त्रीहरुको चीन भ्रमणका क्रममा धेरै क्षेत्रमा सहमति गर्ने तर कार्यान्वयन पक्ष कमजोर हुंदा चीनको विश्वास जित्न नसक्दा सोचे अनुसार सहयोग र लगानी भित्र्याउन नसकिएको शेरचनले बताए ।
‘२००७ सालयता पञ्चायत, बहुदल र गणतन्त्र गरी सबै व्यवस्थामा कुनै सरकार पाँच वर्ष स्थिर हुन नसक्दा चीनलाई विश्वासमा लिन सकिएन’, शेरचनले भने, ‘अब धेरै क्षेत्रमा सहयोग माग्न भन्दा भन्दा नेपालको ब्यापार घाटाको मुख्य कारण बनेको इन्धन आयात घटाउन विद्युतीय सवारी साधन नेपालमै उत्पादन वा एसेम्बल र नेपालका सबैखाले प्राकृतिक स्र्रोत साधनको भरपूर सदुपयोगमा चीनसंग सहकार्य गर्ने विषयमा केन्द्रित हुन आवश्यक छ ।’
माओत्सेतुङले नयाँ चीन स्थापना गर्नुअघि चीनको आर्थिक अवस्था नेपालको भन्दा खराब रहेको तर चिनिया नागरिकको अथक मेहनत र अनुशासनले अहिले विश्वकै शक्तिशाली अर्थतन्त्र भएको देश बनेको शेरचनले उल्लेख गरे ।
नेपालले एक चीन नीतिलाई कडाइका साथ पालना गर्नुपर्ने भन्दै शेरचनले अहिलेको आर्थिक संकटबाट मुक्ति पाउन चीनको सहयोग लिन सरकार र दलहरुको ध्यान जानुपर्ने शेरचनले सुझाए ।
नेपाल–चीन मैत्री समाज लुम्बिनीका अध्यक्ष नारायण सापकोटाले चीनसंग सरकारी तह र जनस्तरमा पनि सम्बन्ध विस्तार गरी नेपालमा चिनिया लगानी भित्र्याउन र १५ करोड चिनियां बौद्धमार्गीलाई बुद्ध जन्मस्थल लुम्बिनीमा आकर्षित गर्न समाजले सरोकारवाला निकायसंग सहकार्य गरिरहेको बताए ।
अन्तरक्रियामा लुम्बिनीस्थित चिनिया बिहारका भिक्षु, लुम्बिनी बौद्ध विश्व विद्यालयका रजिष्ट्रार तिलक आचार्य, प्रा.डा. कपिलदेव लामिछाने, डा. ऋषिराम शर्मा, डा. सागर न्यौपाने, उद्योगीहरु उज्ज्वल कसजू, एजाज आलम, टंक पोखरेल, प्राज्ञ बुंद राना लगायतले चीनको राष्ट्रिय दिवसमा एक साता लामो विदा हुने भएको हुुदा यो अवधिमा चिनिया पर्यटकलाई नेपाल भित्र्याउन विशेष योजना र प्याकेज ल्याउन सरकारको ध्यानाकर्षण गराए ।



