चेम्बरको पदाधिकारी टोली चीन भ्रमणमा, दुई पक्षीय व्यापार सहजीकरणबारे छलफल हुने

२०८० आश्विन ५, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

असोज ५

नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोली चीन भ्रमणमा निस्किएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा निजी क्षेत्रका तर्फबाट चेम्बरले पनि सहभागिता जनाउन लागेको हो ।

भ्रमण टोलीमा चेम्बर अध्यक्ष राजेन्द्र मल्ल, निर्वतमान अध्यक्ष राजेशकाजी श्रेष्ठ, उपाध्यक्षहरु दिपक मल्होत्रा, उर्मिला श्रेष्ठ र त्रिभुवनधर तुलाधर छन्।

भ्रमणका क्रममा चिनियाँ निजी क्षेत्रसँग दुई पक्षीय आर्थिक एवम् व्यापारिक सम्बन्धबारे छलफल हुने अध्यक्ष मल्लले बताए । प्रधानमन्त्री प्रचण्डको भ्रमणका क्रममा दुई देशबीचका निजी क्षेत्रबीच दुई पक्षीय व्यापार सहजीकरण, पूर्वाधारमा लगानी लगायतका विषयमा छलफल हुँदैछ ।

नेपाल–चीनबीचको व्यापार सम्झौतालाई समय सापेक्षा पुनरावलोकन गरेर व्यापार सहजीकरण गर्ने विषय प्राथमिकतामा रहेको चेम्बरले बताएको छ ।

 

नेपाल–चीनबीच यसअघि भएको पारवहन सम्झौताको प्रभावकारी कार्यन्वयन एवम् उत्तरी छिमेकीसँगको सीमामा सुविधा सम्पन्न सडक पूर्वाधार निर्माण गर्नुपर्ने विषयमा चीनको निजी क्षेत्रसँग छलफल गर्ने चेम्बरले जनाएको छ ।

अध्यक्ष मल्लले भने, ‘चीनसँगको सीमामा सुविधा सम्पन्न सडक पूर्वाधार निर्माण गरेर तातोपानी, केरुङ जस्ता भन्सार नाकाहरुमा स्तरोन्नति गरिनुपर्दछ यो विषयलाई पनि उठान गर्नेछौं ।’

अध्यक्ष मल्लले भन्सार नाकाहरुमा अन्तर्राष्ट्रियस्तरको क्वारेन्टिन ल्याब राखेर नेपालको निर्यात वृद्धि गर्नुपर्नेमा जोड दिइने बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय