असोज ४
चिनियाँ कम्युनिष्ट पार्टी, युन्नान प्रान्तीय प्रचार विभाग प्रमुख चङ यानले नेपाल र युन्नान प्रान्तको विविध क्षेत्रको विकासका लागि दुवै देशका सञ्चारमाध्यमले मिलेर काम गर्ने बताउनुभएको छ ।



नौ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार यहाँ आइपुग्नुभएका चङले नेपाल चीन मिडिया फोरमद्वारा आयोजित स्वागत समारोहमा नेपाल र युन्नान प्रान्तको भूगोल, तापक्रम,बोट बिरुवा, जनावर आदिमा समानता पाइने जनाउँदै न्यू मिडिया आदिमार्फत नेपाल चीन दुवैको पर्यटन विकास गर्न गृहकार्य गरिने जानकारी दिनुभयो ।
उहाँले स–साना भिडियो, चलचित्र आदि बनाएर नेपाल र चीनको युन्नानलगायत क्षेत्रको इतिहास,संस्कृति र जनजीवन,चिया,कफी खेतीबारे प्रचारप्रसार गर्न पहिलो चरणमा मिडियाबाट काम गरिने बताउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’का प्रेस सल्लाहकार गोविन्द आचार्यसहित नेपाली प्रतिनिधिमण्डल र नेपाली नागरिकलाई फलफूल,फूललगायत बोट बिरुवा,तरकारी, चिया उत्पादन आदिको राजधानी मानिएको युन्नान पनि भ्रमण गर्न आग्रह गर्नुभयो ।
युन्नान सूचना कार्यालयका नायव महानिर्देशक लाई योङले बिआरआइ अन्तर्गत चीन र लाओसबीच रेल्वे सेवा सञ्चालनमा आएको र यसबाट लाओसीहरूको जीवनस्तर एकदमै बढेको जनाउँदै आगामी दिनमा नेपाललगायत दक्षिण एसियाका पत्रकारलाई तालिम दिइने र भिडियो आदि बनाउन सहकार्य गरिने बताउनुभयो ।
चिनियाँ प्रतिनिधिमण्डललाई स्वागत गर्दै नेपाल चीन मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठले बेल्ट एन्ड रोड इनिसियटिभ आरम्भ भएको १० वर्ष र चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको चौथो वर्ष प्रवेशका अवसरमा नेपाल र युन्नानका सरकारी पदाधिकारीलाई मिडिया क्षेत्रमा सहकार्य गर्न आग्रह गर्नुभयो । उहाँले नेपाली पत्रकारका लागि चिनियाँ भाषा र तिनका सन्ततिलाई युन्नानमा पेशागत र व्यावसायिक सीप प्रदान गर्न प्रतिनिधिमण्डललाई आग्रह गर्नुभयो ।
सो अवसरमा प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले सत्र वर्षअघि चीन भ्रमण गरेका नेपाली पत्रकार बिष्णु रिजाल,गगन बिष्ट,चन्द्रमान श्रेष्ठ,खिलबहादुर भण्डारीलगायतले स्वदेश फर्केपछि मिडिया फोरम खोलेको र यसले पुस्तक प्रकाशन,गोष्ठी आदि गरिरहेको तथा यसै संस्थामार्फत हालसम्म पाँच सय पत्रकार, बुद्धिजीवी,पूर्वमन्त्रीले उत्तरी छिमेकी देशको भ्रमण गरिसकेको जानकारी दिँदै प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधिमण्डल आठ दिनसम्म चीनमा रहने र त्यसले कैलाश मानसरोवरको पनि भ्रमण गर्ने बताउनुभयो ।
पूर्वराजदूत कमलप्रसाद कोइरालाले चीनको प्रगतिबाट नेपाललाई धेरै फाइदा हुने विश्वास व्यक्त गर्नुभयो भने वरिष्ठ पत्रकार पुष्पराज प्रधानले चीनले नेपालमा अहस्तक्षेपका साथ विकासका लागि सहयोग गरिरहेको जनाउँदै नेपाली जनता चीनको सहायता आएको हेर्न इच्छुक रहेको विचार व्यक्त गर्नुभयो । प्रतिनिधिमण्डलले सो साप्ताहिकको सम्पादन र अनलाइन कक्षको पनि अवलोकन गरेको थियो ।



