असोज १
लुम्बिनी प्रदेशमा सरकारी कामकाजको भाषाको रूपमा भोजपुरी भाषालाइ मान्यता दिनुपर्ने माग सहतिको ज्ञापन पत्र काठमाण्डौं स्थित भाषा आयोगलाइ बुझाइएको छ ।
लुम्बिनी प्रदेशबाट गएको अभियानकर्मीहरूको एक प्रतिनिधिमण्डलले लुम्बिनी प्रदेशमा कामकाजको दोश्रो भाषाकोरूपमा भोजपुरी भाषालाइ सिफारिश गर्न माग गरेको हो ।



नेपालको संविधानको धारा ६ अनुसार नेपालको सबै भाषा (१२४ ) लाइ राष्ट्र भाषा भनिएको छ । धारा ७(१) मा देवनागरी लिपीमा नेपाली भाषालाइ सरकारी कामकाजको भाषाको रूपमा व्यवस्था गरिएको छ । साथै धारा ७(२) ले भाषाबारे थप व्यवस्था के पनि गरेको छ भने प्रदेश सभाले नेपाली भाषा बाहेक प्रदेशमा बोलिने एक वा एक भन्दा बढी भाषालाइ कामकाजको भाषा बनाउन सक्छ ।
यस व्यवस्थाका लागि भाषाको सिफारिश गर्ने अधिकार संविधानको धारा २८७ बमोजिम गठीत भाषा आयोगलाइ तोकिएको छ । भाषा सम्बन्धी अन्य सबै काम भाषा आयोगको सिफारिस अनुसार हुने व्यवस्था छ । यसैको आधारमा भाषा आयोगले नेपाली भाषा बाहेक अन्य कुन कुन भाषा सरकारी कामकाजको भाषा हुन सक्छ भनेर त्यसको मापदण्ड बनाइ नेपाली बाहेक अन्य ११ वटा भाषालाइ सरकारी कामकाजको भाषा बनाउनका लागि प्रदेशगत सिफारिस गरेको थियो ।
यसै क्रममा मधेश प्रदेश र गण्डकी प्रदेशमा भोजपुरी भाषालाइ सरकारी कामकाजको भाषाको रूपमा सिफारिस गर्याे तर २०७८ को जनगणना अनुसार चौथो ठुलो भाषाको रूपमा अगाडि आएको भोजपुरी भाषालाइ सिफारिश गरेन । लुम्बिनी प्रदेशमा ५,६२,०६२ जना मानिस अर्थात १०.९७% बोलिने भाषा हुनुको बावजुद पनि सिफारिसमा नपरेपछि भाषा आयोगको ध्यानाकर्षण गराइएको थियो ।
तत्कालिन भाषा आयोगले सिफारिश गरिरहदा स्पष्ट तथ्यांक उपलब्ध नभएका कारण नया जनगणना २०७८ को प्रतिवेदन सार्वजनिक भए पश्चात गरिनुपर्छ । वि.स. २०७८ को जनगणनाको प्रतिवेदन सार्वजनिक भए पश्चात पनि लुम्बिनी प्रदेशमा भोजपुरी भाषालाइ कामकाजको भाषाको रूपमा सिफारिस नगरिएपछि फेरी भाषा आयोगका अध्यक्ष माननीय डा. गोपाल ठाकुरलाइ आयोगकै कार्यालयमा ज्ञापन पत्र बुझाइएको छ । भाषा आयोगमा लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गरिरहनु भएका माननीय डा. अमर गिरीको ध्यानाकर्षण गराउदै लुम्बिनीका नवलपरासी, रूपन्देही लगायत अन्य जिल्लाहरूबाट गएका अभियानकर्मीले सो ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापन पत्र बुझाउने प्रतिनिधिमण्डलमा पश्चिम नवलपरासीबाट कैलास महतो, प्रकाशचन्द कुशवाहा, मनोज यादव, विवेक कुमार ठाकुर, रितेश त्रिपाठी, धिरेन्द्र कुमार शाह, आनन्द कुमार गुप्ता, अनिल कुमार गुप्ता, राजवली प्रसाद कुशवाहा, प्रतिमा चौधरी लगायतको उपस्थती रहेको थियो ।



