नेपालमा लगानी बढाउन चिनियाँ लगानीकर्तालाई चेम्बरको आग्रह

२०८० भाद्र २८, बिहीबार
पढ्ने समय : < 1 मिनेट

भदौ २८

नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी बढाउन चिनियाँ निजी क्षेत्रलाई आग्रह गरेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण अघि चेम्बरले चिनियाँ निजी क्षेत्रसँग दुई पक्षीय आर्थिक एवं व्यापारिक सम्बन्धबारे छलफल गरेको हो।

जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र मल्लले नेपालको जलविद्युत, कृषि, सूचना प्रविधि, पूर्वाधार विकास लगायतका क्षेत्रमा लगानी गर्न चिनियाँ निजी क्षेत्रलाई आग्रह गरे।
अध्यक्ष मल्लले भने, ‘नेपाल चीनबीचको सम्बन्ध कुटनीतिक र आर्थिक दृष्टिकोणले निकै महत्वपूर्ण छ। पछिल्लो समय चिनियाँ लगानी आउने क्रम पनि उच्च छ, खासगरी उत्पादन वृद्धि, रोजगारी सिर्जना गर्ने महत्वपूर्ण परियोजनामा लगानीका लागि आग्रह गर्दछु।’

लगानीका लागि हुने नीतिगत कठिनाई अन्त्यका लागि सरोकारवाला सरकारी निकायमा नेपाल चेम्बर अफ कमर्सले पहल गर्ने अध्यक्ष मल्लले बताए। उनले नेपाल चीनबीचको व्यापार सम्झौतालाई समय सापेक्षा पुनरावलोकन गरेर ब्यापार सहजीकरण गर्नुपर्नेमा जोड दिए।

नेपाल चीनबीच यसअघी भएको पारवहन सम्झौताको प्रभावकारी कार्यान्वयन एवं उत्तरी छिमेकीसँगको सीमामा सुविधा सम्पन्न सडक पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिए।

अध्यक्ष मल्लले भने, ‘चीनसँगको सीमामा सुविधा सम्पन्न सडक पूर्वाधार निर्माण गरेर तातोपानी, केरुङ जस्ता भन्सार नाकाहरुमा स्तरोन्नती गरिनुपर्दछ।’

अध्यक्ष मल्लले भन्सार नाकाहरुमा अन्तर्राष्ट्रियस्तरको क्वारेन्टीन ल्याब राखेर नेपालको निर्यात वृद्धि गर्नुपर्नेमा जोड दिए। नेपालबाट चीनमा वार्षिक २ खर्ब रुपैयाँ हाराहारीमा निर्यात सम्भावना रहेको विभिन्न अध्ययनले देखाएको भन्दै त्यसको लाभ लिनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए।

प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा दुई मुलुकबीच व्यापार सहजीकरण गर्ने विषयलाई उच्च प्राथमिकतामा राख्ने गरी चेम्बरले सुझाव समेत दिएको छ।

चेम्बरसँगको छलफलका क्रममा चिनियाँ निजी क्षेत्रका उच्चस्तरीय प्रतिनिधिले नेपालमा लगानीका लागि भईरहेको नीतिगत कठिनाईबारे जिज्ञासा राखेका थिए।

दुई मुलुकबीच आर्थिक र कुटनीतिक सम्बन्ध उच्चस्तरीय रहेको उनीहरुको भनाई छ। हेन इन नेतृत्वमा चिनियाँ निजी क्षेत्रको उच्चस्तरीय टोली नेपाल भ्रमणमा आएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय