जेठ २७
राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले चीनले नेपाललाई ऋण जालमा फसाउन खोजिरहेको आरोप लगाएका छन् ।
सर्लाहीको मलंगवामा अभियानले आयोजना गरेको नेपालप्रति चिनियाँ अभ्यास र असर विषयक विचारगोष्ठीमा बोल्दै उनले चीनले नेपाललाई ऋण जालमा फसाई श्रीलंका बनाउन खोजिरहेको आरोप लगाएका छन ।



उनले चीनले पछिल्लो समय नेपालमाथि विभिन्न कोणबाट आँखा लगाइरहेको टिप्पणी गरेका छन । उनले भने,’उतर तीरबाट नेपाली भूमि क्रमशः अतिक्रमण भइरहेको छ, चीनले देश भित्र राजनीतीक हस्तक्षेप गर्नुका साथै अघोषित नाकाबन्दीलाई निरन्तरता दिइरहेको छ।’
उनले नेपाललाई चीनले तिब्बत बनाउने षड्यंन्त्र गरिरहेको समेत खुलासा गरे । उनले भने,’चीनको तिब्बतीकरण गर्ने षड्यंन्त्रको विरोधमा अब सम्पूर्ण नेपालीले एकजुट भई आवाज उठाउने बेला आएको छ।’
त्यसैगरी गोष्ठीमा पूर्वमन्त्री रामचन्द्र राय यादवले नेपाललाई श्रीलंका बनाउने रणनीतिमा चीन लागेको आरोप लगाए । उनले भने,’चीनले नेपाललाई श्रीलंका बनाउन खोजिरहेको छ, चीनले पोखरा विमानस्थलमा लगानी गरेर विमानस्थल कब्जामा लिने षडयन्त्र गरिरहेको छ।’
उनले चीनले बीआरआईमार्फत नेपाललाई ऋण जालमा पार्न विभिन्न कोणबाट कसरत गरिरहेको पनि जिकिर गरे ।
उनले भने,’चीनको विस्तारवादी नीतिलाई रोक्नु पर्छ, नेपाललाई चिनियाँ ऋणको जालमा फस्न दिनु हुँदैन।’
त्यस्तै नागरिक समाजका अगुवा शिवचंद्र चौधरीले चीनको विस्तारवादी नीतिलाई हामी सबै जना मिलेर नरोकेसम्म नेपालको विकास सम्भव नहुने जिकिर गरे ।
उनले भने,’कहिले चीनका लागि नेपाली राजदूतको ओहोदा प्रमाण पत्र नबुझिदिने त कहिले काठमाडौंमा रहेको चिनियाँ दूतावासमार्फत चीनले नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्न लगायतको काम गरिरहेको छ।’
कार्यक्रमको संचालन अभियानका मलंगवा संयोजक भगवान मिश्रले गरेका थिए।



