जेठ ८
मिलेनियम च्यालेञ्ज कर्पोरेसन(एमसीसी)का एशिया, यूरोप, प्यासिफिक र लेटिन अमेरिकाका कार्यक्रम हेर्ने क्षेत्रीय उपाध्यक्ष जोनाथन ब्रुक्स नेपाल आएका छन्।
एमसीसी सम्झौता कार्यान्वयनमा जाने मिति (अगस्ट २०२३) नजिकै आएको र यो कार्यान्वयनमा गएको मितिले ५ वर्षभित्र आयोजना सम्पन्न गरिसक्नु पर्ने सन्दर्भमा यसको पूर्वतयारीका अवस्थाबारे जानकारी लिन उनी नेपाल आएका हुन्। उनले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई सोमबार भेटेका छन्।



भेटका क्रममा एमसीसी परियोजनाको कार्यान्वयनबारे छलफल भएको अर्थमन्त्रीको सचिवालयले जनायो। भेटमा नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनको पनि सहभागिता रहेको थियो।
भेटघाटका क्रममा डेपुटी भाइस प्रेसिडेण्ट जोनाथन ब्रुक्सले जग्गा प्राप्ति, खरिद प्रकृया जस्ता पूर्वतयारीका काममा भएको प्रगति प्रति सन्तोष व्यक्त गरेको बताइएको छ। त्यसैगरी, सम्झौता कार्यान्वयनमा जानुपूर्व सम्पन्न भै सक्नुपर्ने बाँकी कार्यका बारेमा पनि दुवै पक्षवीच विस्तृत छलफल भएको थियो।
अर्थमन्त्री महतले यो आयोजना पूर्वनिर्धारित समयावधिभित्रै सम्पन्न भै नेपालको आयोजना व्यवस्थापनमा उदाहरणीय बन्न सक्ने विश्वास व्यक्त गर्नुका साथै आयोजना चक्रमा आउने महत्वपूर्ण विषयहरुलाई कानूनको प्रकृया पूरा गरी यथाशीघ्र टुंग्याउने प्रतिवद्धता जनाए। मन्त्री महतले एमसीसी आयोजनाको सफलता अन्य आयोजनाका लागि पनि अनुकरणीय हुने विचार व्यक्त गर्दै एमसीसीका पदाधिकारीलाई नेपाल भ्रमण गरी छलफल गरेकोमा धन्यवाद व्यक्त गरे।



