नेपाल र भारतको सीमालाई चुस्त र स्पष्ट राख्नुपर्छ ः पूर्वराष्ट्रपति भण्डारी

२०८० बैशाख ३०, शनिबार
पढ्ने समय : < 1 मिनेट

बैशाख ३०
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल–भारतबीचको भौगोलिक सीमालाई चुस्त र स्पष्ट राख्नुपर्ने बताएकी छिन्।

कालापानी लिपुलेक र लिम्पियाधुरा नेपाली भूभाग भएको उल्लेख गर्दै दुई मुलुकबीचको भौगोलिक सीमालाई सम्पूर्ण रुपले चुस्त र स्पष्ट राख्नुपर्ने उनले औंल्याइन्।

शनिबार काठमाडौंमा आयोजित पुस्तक बिमोचन कार्यक्रममा बोल्दै उनले सो कुरा बताएकी हुन्।

दुई देशबीचको सदिऔंदेखि रहँदै आएको जनस्तर, सांस्कृतिक र कूटनीतिक सम्बन्धलाई थप सुदृढ र सुमधुर तुल्याउन पनि भौगोलिक सीमासम्बन्धि सबै समस्याहरु हल गरेर अघि बढनैपर्ने तर्क उनको थियो।

‘दुई देशबीचको सिमाको सबैले सम्मान गर्नु पर्दछ। कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूभाग हुन। हाम्रो देशको नक्शामा संसदले कालापानी, लिपुलेक र लिम्पियाधुराको भूभाग समाविष्ट गरेर त्यसलाई संविधानको अंग बनाएपछि मुलुकको सार्वभौमिकता, राष्ट्रिय एकता र राष्ट्रियताका सन्दर्भमा ऐतिहासिक रुपमै नयाँ चेतनाको सञ्चार भएको छ,’ उनले भनिन्, भौगोलिक अखण्डता र देश प्रेमप्रतिको अटल विश्वास प्रदर्शित भईरहेको छ। नेपाली भूभागको यस विषयलाई व्यवहारिक निष्कर्षमा लैजान काली नदीको मुहानका बारेमा इतिहासका प्रसंगलाई हामीले फेरी एक पटक महत्वका साथ स्मरण गर्नु पर्दछ। हामीलाई थाहा छ–मुलुकहरु बीचको भौगोलिक सीमाना कतिपय अवस्थामा दुई पक्षीय कूटनीतिको विषय बन्ने गर्दछ।’

कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालले आफ्नो नक्शामा समाविष्ट गरेर संविधानको अंग बनाएसँगै मलुुकको सार्वभौमिकता, राष्ट्रिय एकता र राष्ट्रियताप्रति ऐतिहासिक रुपमै नयाँ चेतनाको सञ्चार भएको उल्लेख गर्दै पूर्वराष्ट्रपति भण्डारीले त्यसलाई कार्यान्वयनमा लैजान दुई मुलुकका राजनीतिक तथा कूटनीतिक नेतृत्वले विशेष ध्यान दिनुपर्ने बताइन्।

‘हामीले आज चर्चा गरिरहेको नेपाली भूगोल हामीसँगै सभ्यताले जोडिएको मित्र राष्ट्र भारतसँग समेत विभिन्न कारणले सम्बन्धित हुन पुग्यो। त्यसकारण दुई देशबीचको भौगोलिक सिमानालाई सम्पूर्ण रुपले चुस्त र स्पष्ट राख्नु पर्दछ,’ उनले भनिन्, ‘यस्तो कार्यका हाम्रा दुईदेशबीच सदिऔंदेखि रहँदै आएको जनस्तर, सांस्कृतिक र कूटनीतिक सम्बन्धलाई थप सुदृढ र सुमधुर तुल्याउन महत्वपूर्ण योगदान पु¥याउने मैले विश्वास लिएको छु।’

पूर्वराष्ट्रपति भण्डारीले एक राष्ट्रले अर्को राष्ट्रको संवेदनशीलतालाई ख्याल गरेर अघि बढदामात्रै आपसी सम्बन्धलाई अझ सदृढ र विश्वाशिलो बनाउँदै लैजान सकिने पनि स्मरण गराइन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय