बैशाख २६
चीनको बीआरआई परियोजनाले दश वर्ष पूरा गरेको अवसरमा सियानमा ‘चीन–मध्य एसिया समिट’ आयोजना गरिको छ।
मे १८–१९ (जेठ ४ र ५) मा हुने ‘चीन–मध्य एसिया समिट’ मा मध्य एसियाका ५ राष्ट्र प्रमुख र चीनका राष्ट्रपति सी चिनफिङ सहभागी हुनेछन्।



सन् २०१३ मा पहिलो पटक चीनको राष्ट्रपति भएपछि मध्य एसियाको काजकीस्तान पुगेर सी ले बेल्ट एण्ड रोड (बीआरआई) परियोजना अगाडि सारेका थिए, जसलाई चीनका प्रतिस्पर्धी शक्ति राष्ट्र अमेरिका, भारत, जापानले ‘राणनीतिक योजना’ बताउँदै आएका छन्।
गत मार्चमा तेस्रो पटक राष्ट्रपति चयन भएका सीले यस्तै प्रकारका थप दुई रणनीतिक योजना– ग्लोबल सेक्युरिटी इनिसियटिभ (जीएसआई) र ग्लोबल डेभलपमेन्ट इनिसियटिभ (जीडीआई) समेत अगाडि सार्दै बीआरआईबारे विश्व नेताहरूलाई राखेर समिक्षा गर्न लागेका हुन्।
समुद्री मार्ग र रेलमार्गबाट चीनलाई मध्य एसिया, दक्षिण एसिया र यूरोपसँग जोड्ने बीआरआई परियोजना कोभिड महामारीका कारण चर वर्ष अलमलमा परेपनि बेइजिङले फेरि गति दिन खोजेको देखिन्छ।
अघिल्लो महिना सान्सीको सियानमै भएको चीन र मध्य एसियाका विदेश मन्त्रीहरूको चौथो बैठकले राष्ट्रपति स्तरमै ‘चीन–मध्य एसिया समिट’ आयोजना गर्ने निर्णय गरेको थियो। पहिलो समिट चीनले आयोजना गर्न लागेको हो।
चीनको सरकारी टेलिभिजन सीसीटीभीका अनुसार मध्य एसियाका काजकीस्तान, तुर्किमिनिस्तान, उज्बेकिस्तान, किर्गिस्तान, ताजकिस्तानका राष्ट्र प्रमुखहरू र चीनका राष्ट्रपति समिटमा सहभागी हुने छन्।
पुरानो सिल्क रोडको उद्गमस्थल सियानमै आयोजना गरिनु अर्थपूर्ण रहेको टिप्पणी गर्दै सीसीटीभीले भनेको छ, ‘यसले क्षेत्रीय विकास र अन्तर्राष्ट्रिय परिस्थितिमा गहिरो प्रभाव पार्नेछ।’



