कार्तिक ७
गृहमन्त्री बालकृष्ण खाँणले युवाहरु लागूऔषध प्रयोग र ओसारपसारबाट टाढा रहनुपर्नेमा जोड दिएका छन् । लागूऔषधको प्रयोग र ओसारपसारले राष्ट्रका कर्णधार मानिने युवापुस्ताहरुको स्वास्थ्य जोखिममा पर्ने, विभिन्न कानूनविपरीतका कार्यमा संलग्न हुने जस्ता जोखिम बढ्ने जनाउँदै गृहमन्त्री खाणँले यसबाट सबै युवायुवतीहरु सचेत र सजग रहनुपर्ने बताए । विश्व पोलियो दिवसमा भैरहवामा क्रियाशिल रोटरी क्लब अफ भैरहवा , रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनी एवम रोट्रयाक्ट क्लबहरुले भैरहवामा आयोजना गरेको पोलियो शान्ती ¥यालीको समापन कार्यक्रमलाई सम्बोधन गर्दैै मन्त्री खाँणले लागूऔषधको नियन्त्रणका लागि सरकार प्रतिबद्ध रहेको र रोकथाम तथा सचेतनाका कार्यक्रमहरु पनि गरिरहेको जनाए। ।
पाँच दलीय गठबन्धनबाट रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा उम्मेदवार समेत रहेका नेपाली काँग्रेसका केन्द्रीय सदस्य खाँणले युवाहरुलाई कुलतबाट जोगाउन र आगूऔषधको नियन्त्रणमा सरकारसँगै सबै एकजुट भएर लाग्नु पर्ने बताए ।
‘तीनै तहका सरकारले आफ्नो तहबाट काम गरिरहेका छन्, यसमा रोटरी जस्ता सामाजिक संघसंस्थाहरुको साथसहयोगले लागूऔषधको दुव्र्यसनीलाई निर्मूल पार्न सहयोग पुग्छ’, उनले भने, ‘रुपन्देहीका धेरै रोटरी लगायतका सामाजिक संघसंस्थाले यस क्षेत्रमा काम पनि गर्नुभएको छ, आगामी दिनमा पनि गर्दै जानुहोला । यसमा सरकारको साथ र सहयोग रहन्छ ।’
लागूऔषध जस्तो घरपरिवार, समाज, राष्ट्र र कानूनले नै बर्जित गरेका कुराहरुमा युवापुस्तादेखि कोही पनि नागरिक लाग्न नहुनेमा मन्त्री खाणले जोड दिए ।
खाँणले रोटरी र रोट्रयाक्ट क्लबहरुले स्वास्थ्य, शिक्षा, समाजसेवा, विपदमा सरकारसँग हातेमालो लगायत थुप्रै क्षेत्रमा प्रशंसनीय काम गरेको बताए । यस्ता संस्थाहरुसँग हातेमालो गरेर सरकार काम गर्न तयार रहेको उनले जनाए । यस्तै गृहमन्त्री खाणले फरक प्रसगमा निर्वाचनलाई प्रभावित गर्ने गरि आफ्नो जिल्लामा पदक बाडेको बिपक्षीहरुको आरोप को खण्डन गर्दैे रुपन्देहीमा योग्य भएकाहरुले पदक पाएको बताएका छन । मन्त्री खाँणले बिपक्षीले रुपन्देहीका युवाहरुको मूल्याङ्कन गर्न नसकेको बताए । “रुपन्देहीमा एक से एक प्रतिभा रहेका छन्, रुपन्देही जिल्ला नै रचनात्मक रहेको छ ।” उनले भने “यहा पदक दिनु पर्ने अझ धेरै हुनुहुन्थ्यो तर सिमितलाई छनौट गर्नु पर्ने बाध्यता रहेको थियो, भविष्यमा उहाहरुलाई पनि समेट्ने छौं ।”
कार्यक्रममा बोल्दै गठबन्धनका तर्फबाट क्षेत्र नम्बर ३ (क) का उम्मेदवार एवं लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता सन्तोषकुमार पाण्डेले रोटरी क्लब र रोट्रयाक्ट क्लबलाई शहरी क्षेत्रको साथै ग्रामीण क्षेत्रमा पनि सामाजिक काममा लाग्न आग्रह गरे । उनले अहिले शहरी तथा ग्रामीण क्षेत्रमा पनि लागूऔषध लगायतको कुलतमा युवाहरु फस्दै गइरहेकाले यस्ता क्लबहरुले दुवै क्षेत्रमा निगरानीका साथै सचेतनामूलक काम गर्नुपर्नेमा उनले जोड दिए । उनले पाँच दलीय गठबन्धनले नै राष्ट्रको नेतृत्व गर्ने र सबै क्षेत्रको सन्तुलित विकास गर्ने जनाए । अक्टोबर २४ का दिन विश्व पोलियो दिवस संसारभर मनाउने गरिन्छ । यस दिन पोलियो उन्मूलनका लागि सचेतना जगाउने गरिन्छ । हाल विश्वमा पाकिस्तान, अफगानिस्तान र नाइजेरिया बाहेकका देशमा पोलियो रोग छैन । नेपालमा सन् २०१० यता पोलियो रोगी भेटिएका छैनन् ।
रुपन्देहीमा क्रियाशिल रोटरी क्लब र रोट्रयाक्ट क्लबहरुको बिभिन्न शाखाहरुले यस दिन सचेतनामूलक कार्यक्रम गरि मनाउने गरेका छन् । विश्व पोलियो दिवसकै अवसर पारेर सोमबार भैरहवामा पोलियो शान्ती ¥यालीको आयोजना गरिएको छ । भैरहवाको बुद्धचोकबाट सुरु भएको शान्ती ¥याली, नारायणपथ, बैंकरोड, नया सडक हुदै जनकपथमा समापन भएको रोटरी क्लब अफ भैरहवा का सस्थापक अध्यक्ष राजकुमार गुप्ताले जानकारी दिए ।






