भदौ २१
भारतीय सेनाले नेपाली सेनालाई २२ करोड रुपैयाँ बढीको सहयोग गरेको छ। नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डेले प्रधानसेनापति प्रभुराम शर्मालाई उक्त रकम बराबरको समान हस्तान्तरण गरे।
भारतीय सेनाले मेडिकल उपकरणहरु, १० वटा बुलेटप्रुफ गाडी, ४ वटा घोडालगायत सामानहरु हस्तान्तरण गरेको थियो। पाण्डे र शर्माबीच द्विपक्षीय भेटवार्तासमेत भएको थियो।
भारतीय सेनाका प्रमुख जनरल पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरिएको थियो। शीतल निवासमा आयोजित ए समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरेकी थिइन्। भारत र नेपालबीच एक अर्काका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने प्रचलन विगत सात दशकदेखि रहिआएको छ।
सन् १९५० मा भारतीय सेनाका सेनापति जनरल केएम करिअप्पालाई पहिलो पटक नेपाली सेनाको सो मानार्थ दर्जा प्रदान गरिएको थियो। गत वर्ष नोभेम्बरमा नेपालका प्रधानसेनापति प्रभुराम शर्मालाई पनि राष्ट्रपति रामनाथ कोविन्दद्वारा नयाँ दिल्लीमा आयोजित एक समारोहमा भारतीय सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिएको थियो।






