भदौ १३
नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताले दुई भारतीय नागरिकलाई प्रहरीसँगको मिलेमतोमा लागूऔषध मुद्दामा फसाएको आरोप लागेको छ ।
गुप्ताले भारतीय नागरिक रामा गुप्ता र जितेन्द्र पासवानलाई साझेदारीमा सञ्चालित कवाड व्यवसायको एक करोड ३३ लाख मुनाफा हडप्ने उद्देश्यले लागूऔषध मुद्दामा फसाएको भन्दै दोषीलाई कारबाहीको माग गरिएको हो ।
गुप्ताका परिवार, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले परासीमा पत्रकार सम्मेलन गरी गाउँपालिका अध्यक्ष गुप्ताकै योजनामा सुनवलको भुमहीमा बस्दै आएका कवाड व्यवसायी भारतको मोतिहारी जिल्ला चिरइया थाना ग्रामका गुप्ता र पासवानलाई फसाएको दावी गरेका हुन् ।



उनीहरुले गुप्ता र पासवान पूर्णतः निर्दोष रहेकाले तत्काल रिहाइ गर्न र गाउँपालिका अध्यक्षमाथि छानबिन गर्न माग गरेका छन् । प्रहरी प्रधान कार्यालय र प्रदेश प्रहरीले गरेको छानबिनको प्रतिवेदन तत्काल सार्वजनिक गर्न पनि उनीहरुको माग छ । आर्थिक चलखेल गरेर सहयोगीलाई दोषी देखाएर गाउँपालिका अध्यक्षलाई उन्मुक्ति दिन खोजिएको भन्दै उनीहरुले गहिराइमा पुगेर छानबिन गर्न माग गरेका छन् ।
गुप्ता र पासवानलाई फसाउन गाउँपालिका अध्यक्षको निर्देशनमा उनका सहयोगी गाउँपालिकाका नगर प्रहरी (पूर्व प्रहरी) रघुनाथ धोवीले आफैंले ल्याएको लागूऔषध मोटरसाइकलमा राखिदिएर प्रहरीलाई बोलाएर पक्राउ गराएको रामा गुप्ताका साला सञ्जय साहले बताए ।
‘गाउँपालिका अध्यक्षसंग १३ करोडको कारोबार गरेका थियौं, कारोबारको २० प्रतिशत नाफा हामीले पाउने सहमति थियोे’, साहले भने, ‘हामीले पाउनुपर्ने एक करोड ३३ लाख रकम नदिन अध्यक्षले धेरै समय आलटाल गरेका थिए, त्यो दिन पिपरहियामा बोलाए, पैसा दिने होला भनेर गएको भिनाजुलाई फसाउन रहेछ ।’
गाउँपालिका अध्यक्ष गुप्तासँग रामा ले १२ वर्षदेखि कवाड कारोबार गर्दै आएको सन्जयले बताए । पाउनुपर्ने रकम दिन आलटाल गरेपछि कवाड दिन छाडेको र उनले धम्की दिंदै आफूलाई नै बेच्न दबाव दिंदै आएको साहले बताए ।
पत्रकार सम्मेलनमा जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष धरेन्द्र यादवले पद र पैसाको आडमा गाउँपालिका अध्यक्षले तिर्नुपर्ने मोटो रकम नतिरेर उम्किन भारतीय नागरिकलाई फसाएको पाइएको बताए ।
‘भारतीय नागरिकको पक्षमा बोलिदिने कोही छैनन् भनेर झुटा मुद्दामा फसाउन खोजिएको छ, यस्तो अन्याय भयो भने भोलि भारतमा रहेका नेपालीमाथि यस्तै घटना दोहोरिन सक्छन’, यादवले भने, ‘यो घटनामा प्रहरीको भूमिका शंकास्पद छ ।’
नेपाली कांग्रेस नवलपरासीका कार्यवाहक सभापति विक्रमप्रसाद यादवले गठबन्धनको आडमा गाउँपालिका अध्यक्ष गुप्तालाई बचाउन प्रहरी प्रशासन समेत लागेको भन्दै गृह मन्त्रालयको ध्यान जानुपर्ने माग गरे । गाउँपालिका अध्यक्ष गुप्ता माओवादी केन्द्रबाट निर्वाचित हुन् ।
कवाड व्यवसायी गुप्ता र पासवान बसेको ठाउँमा २७० सेट डाइजेपाम नुर्फिन र फेनार्गन भेटिएको प्रहरीको भनाइ छ ।
निर्दोषलाई फसाएको भन्दै नवलरासीबाट प्रतिनिधित्व गर्ने लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ जयसवालले माथिल्लो प्रहरी निकायमा जानकारी गराएपछि प्रहरी प्रधान कार्यालय र प्रदेश प्रहरी कार्यालयले अनुसन्धान टोली खटाएको थियो ।
पक्राउ परेका दुवै युवक डेढ महिनादेखि प्रहरी हिरासतमा छन । प्रहरीले गाउँपालिका अध्यक्ष गुप्ताका सहयोगी धोबीलाई पनि पक्राउ गरेको छ ।
यसअघि साउनमा नेपाली कांग्रेस पाल्हीनन्दन गाउँ समितिका सभापति हरिहर चौहान, जसपा गाउँ कार्य समितिका सहसंयोजक कमलेश माली, जसपाका गाउँ युवा समितिका अध्यक्ष बसन्त यादव र कांग्रेस जिल्ला समिति सदस्य चन्द्रमणि चौधरीले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै निर्दोष भारतीय नागरिकलाई मुक्त गरी दोषीलाई कारबाही गर्न माग गरेका थिए।



