मुस्ताङको उत्तरी कोरला नाका मा अज्ञात रहेको सीमा स्तम्भ दुई स्थानीय युवाले पत्ता लगाए

२०७९ श्रावण १०, मंगलवार
पढ्ने समय : 2 मिनेट

साउन १०
चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको मुस्ताङको उत्तरी कोरला नाका स्थित ३३ नम्बर सीमा स्तम्भ हालै पत्ता लागेको छ।

हालसम्म मुस्ताङ जिल्लाको उत्तरी कोरला नाकाको १६ वटा सीमा स्तम्भ मध्ये ३३ नम्बर सीमा स्तम्भको स्थान पत्ता लागेको थिएन्। उक्त स्तम्भ नेपाली सेनाको पहलमा स्थानीय दुई युवाहरूले पहिचान गरेका हुन्। लोघेकर दामोदरकुण्ड–४ घाराका दुई युवा छिदेधार्जे गुरुङ र पासाङ गुरुङले पत्ता लगाएका हुन्। यसअघि उत्तरी कोरला नाकाको मनाङतर्फ पर्ने २३ नम्बर सीमा स्तम्भ १८ नम्बर सीमा स्तम्भको र डोल्पातर्फ पर्ने २५ नम्बर सीमा स्तम्भदेखि ३२ नम्बर सीमा स्तम्भसम्मको पहिचान गरिएको थियो।

तर हालसम्म भेटिन नसकेको उत्तरी कोरला क्षेत्रको ३३ नम्बर सीमा स्तम्भ भने हालै भेटिएको हो।

यसअघिका तत्कालीन प्रमुख जिल्ला अधिकारी वेदप्रकास अर्याल, हिरादेवी पौडेल र हालका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माको कार्यकालमा सुरक्षा निकाय र प्रशासनको टोलीले १८ देखि ३२ नम्बरको सीमा स्तम्भको पटक÷पटक अनुमगन तथा निरीक्षण गर्ने काम सम्पन्न भएको थियो।

जोमसोमस्थित नेपाली सेनाको नारायण दल गणको पहलमा स्थानीय सूचकहरूको प्रयोग गरी हालसम्म अज्ञात रहेको उत्तरी कोरला नाका को ३३ नम्बर सीमा स्तम्भ पत्ता लगाउने कामको जिम्मा स्थानीय युवाहरूलाई दिइएको थियो।

बिहानै ३ बजेतिर दुई वटा घोडा चढेर हालसम्म भेटिन नसकेको सीमा स्तम्भ खोज्न हिँडेका उनीहरूले १२ घण्टाको कठिन यात्रा तय गर्दै ३३ नम्बर सीमा स्तम्भमा पुगेका हुन्।

उक्त सीमा स्तम्भ नेपाली र चिनियाँ भाषामा लेखिएको छ।

‘हामीलाई सेनाले जिम्मा दियो। कठिन यात्रापछि उक्त सीमा स्तम्भ भएको ठाउँमा पुग्यौं। जुन स्थान भौगोलिक रुपले अत्यन्तै विकट छ। त्यहाँ पुग्दा गौरबको महशुस भयो’, छिदेधार्जेले भने।

त्यस स्थानमा चीनको तिब्बती भूमि खुला समथर फाँटैफाँट छ। सीमा स्तम्भ रहेको ठाउँमा सुख्खा ग्रेग्रानसहितको फाँट छ,’ उनले भने, ‘त्यहाँको सीमा स्तम्भ नजिकै चिनपक्षको सुरक्षा पोस्ट देखियो,जहाँ चिन पक्षका सुरक्षाकर्मी देखिन्थे।’

सीमा स्तम्भ नजिक नेपाल चीनको सिमानामा कुनै तारबार नदेखिएको उनले बताए।

मुस्ताङको १६ वटा सीमा स्तम्भ मध्ये हालै भेटिएको ३३ नम्बर सीमा स्तम्भ पुग्न पैदलयात्रा गर्दा ३ दिन लाग्ने र घोडामा गए २ दिन लाग्ने अर्को स्थानीय पासाङ गुरुङले बताए।

नेपाल–चीनबीच पर्ने मुस्ताङको कोरला नाका को १५ वटा सीमा स्तम्भ २०१९ सालमा बनाईएको थियो। ३३ नम्बर सीमा स्तम्भ भने २०४५ सालमा बनाइएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए।

१८ नम्बर देखि ३२ नम्बर सीमा स्तम्भ बनेको २३ वर्षपछि ३३ नम्बर सीमा स्तम्भ निर्माण भएको देखिन्छ। प्रमुख जिल्ला अधिकारी शर्माले यसअघि सशस्त्र बोर्डर आउट पोस्ट बिओपीले ३३ नम्बर सीमा स्तम्भ पहिचान प्रयास गरेपनि मौसम प्रतिकुलता र खराब मौसमका कारण पत्ता लाग्न नसकेको बताए।

जोमसोम स्थित नारायण दल गणका गणपती प्रमुख सेनानी ईन्द्रबहादुर गुरुङले मुस्ताङको उत्तरी क्षेत्रमा पर्ने ३३ नम्बर सीमा स्तम्भ भेटिएको पुष्टि गरे।

प्रमुख सेनानी गुरुङले अब चाँडै स्थानीय युवालाई साथै लिएर ३३ नम्बर सीमा स्तम्भ भएको स्थानमा पुगेर त्यहाँको वस्तुगत अवस्थाको बारेमा विस्तृत जानकारी लिएर केन्द्रलाई अपडेट गरिने बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय