चैत २२
विश्वको तेस्रो अग्लो शिखर कञ्चनजंघाको आरोहणका लागि नेपाली र भारतीय सेनाको संयुक्त टोलीले अभियान सुरु गरेको छ।
भारतीय रक्षामन्त्री राजनाथ सिंहले विशेष समारोहबीच अभियान टोलीलाई झण्डोत्तोलन गरी बिदाई गरेका हुन्। ऐतिहासिक महत्व बोकेको यस संयुक्त हिमाल आरोहण अभियानलाई दुवै मुलुकबीचको सैनिक सहकार्य र मित्रताको प्रतीकको रूपमा हेरिएको छ।



समारोहमा नेपाली सेनाको तर्फबाट सैनिक तालिम महानिर्देशनालयका महानिर्देशक उपरथी ध्रुव प्रकाश शाह सहभागी थिए। उनले भारतीय रक्षामन्त्रीसँगै अभियान टोलीलाई शुभकामना दिँदै संयुक्त प्रयासले दुबै देशको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरे।
कञ्चनजंघा हिमाल आरोहण अभियानले नेपाली र भारतीय सेनाबीचको आपसी तालमेल, सहकार्य र साहसिकताको नयाँ अध्याय सुरु गर्ने अपेक्षा गरिएको छ। अभियानले उच्च हिमाली जोखिम व्यवस्थापन, वातावरणीय सचेतना र दुवै सेनाको शारीरिक तथा मानसिक तयारीको परीक्षा समेत दिनेछ।



