माघ २८
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का ‘इण्डिया इनर्जी विक–२०२५’ मा भाग लिन नयाँदिल्ली प्रस्थान गरेका छन्।
भारतको राजधानी नयाँदिल्लीमा फरवरी ११ देखि १४ तारिखसम्म सञ्चालन हुन लागेको ऊर्जा सप्ताहमा भाग लिन मन्त्री खड्का आज दिउँसो नयाँदिल्ली प्रस्थान गरेका हुन्।
भारतको पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयको संरक्षकत्व तथा भारतीय पेट्रोलियम उद्योग महासंघको आयोजनामा हुन लागेको उक्त सम्मेलनमा भारतको कम कार्बन वृद्धि अर्थ व्यवस्थाका लागि अग्रगामी मोडेलको विषयमा छलफल हुनेछ।
यस्तै, ऊर्जा पहुँच, सुरक्षा, किफायती र दिगोपनका लागि भारत सरकारको प्रतिबद्धतालाई उक्त कार्यक्रमले थप उजागर गर्नेछ। भारतको ऊर्जा सप्ताहले सबैका लागि स्वच्छ ऊर्जा भविष्यतर्फ प्रेरित गर्ने बताइएको छ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने उक्त कार्यक्रम १० देशका ७० हजार ऊर्जा व्यवसायी सहभागी रहने बताइएको छ। यस्तै, ९० सत्रमा छलफल हुने, ५०० वक्ताले धारणा राख्ने र ७०० कम्पनीले प्रदर्शन कक्ष राख्ने जनाइएको छ ।
मन्त्री खड्काले उक्त कार्यक्रममा ‘क्लिन कुकिङ’ र ‘इनर्जी एक्सेस ग्याप’सम्बन्धी दुईवटा मन्त्रिस्तरीय सेसनलाई सम्बोधन गर्नेछन्। मन्त्री खड्कासँगै कार्यक्रममा भाग लिन मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारी र अर्थ विज्ञ अमित श्रेष्ठ नयाँदिल्ली प्रस्थान गरेका छन्।






