कार्तिक २६
साझा समृद्धिका लागि दौड भन्ने नाराका साथ पोखरामा भएको तेस्रो पोखरा अन्तर्राष्ट्रिय क्रसक्रन्ट्री प्रतियोगितामा ५० किलोमिटर व्यक्तिगततर्फ चिनियाँ टोली र समूहतर्फ नेपाल पहिलो भएको छ ।
५० किलोमिटर व्यक्तिगत पुरुष दौडमा चीनका धावक याङ जियानले निर्धारित दूरी ३ घण्टा ४४ मिनेट १२ सेकेन्डमा पूरा गर्दै पहिलो भएका हुन । नेपाल आर्मीका कुलबहादुर बस्नेतले ३ घण्टा ४८ मिनेट ३ सेकेन्डमा पूरा गर्दै दोस्रो र आर्मीकै होमलाल श्रेष्ठले ३ घण्टा ५३ मिनेट ३३ सेकेन्डको समय निकाल्दै तेस्रो स्थान हात पारे ।
महिलातर्फ पनि पहिलो स्थान चिनियाँ खेलाडीले हात पारिन । चीनकी झेन वेन रोङले ४ घण्टा १४ मिनेट ४८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै पहिलो भएकी हुन । जुम्लाकी कल्पना बुढा र नेपाल पुलिसकी राममाया बुढा दोस्रो र तेस्रो भए । ५० किलोमिटर समूहतर्फको प्रतिस्पर्धामा नेपाल पहिलो भयो ।
नेपालका सुशीलकुमार शाही, सिर्जना पाण्डे र श्रीकाश राईको टोलीले दौड, साइक्लिनिङ, डुंगा दौड र पुन दौडनु पर्ने विधाको निर्धारित ५० किलोमिटर ४ घण्टा २० मिनेट १४ सेकेन्डमा पूरा गरे । करण रावल, नरेन्द्रसिंह राउत र निर्मला राईको टोली दोस्रो र लक्ष्मण मल्ल, निरोज भट्ट र पुष्पा भण्डारीको समूह तेस्रो भए ।
तेस्रो पोखरा अन्तर्राष्ट्रिय क्रसकन्ट्रीमा सहभागी हुन १३४ जनाको चिनियाँ टोली बिहीबार चार्टर्ड विमानमा कुनमिङ सहरबाट पोखरा आएका थिए । पर्यटन प्रवद्र्धनका साथै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनमासमेत सहयोग पु¥याउने र नेपाल–चीन सम्बन्धलाई थप सृदृढ बनाउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजक नेपाल र चीन दुवै पक्षले जनाएका छन ।
प्रतियोगिताको उपाधि विजेता टोलीले चार लाख ५८ हजार चार सय, दोस्रोले तीन लाख ४३ हजार आठ सय र तेस्रो हुनेले दुई लाख २९ हजार दुई सय रुपैयाँ पुरस्कार पाए । प्रतियोगिता सञ्चालन गर्न ६ करोड रुपैयाँ लागेको आयोजक संस्था हिमालयन टुरिजम फोरमका अध्यक्ष विश्वशंकर पालिखेले जानकारी दिए ।