कोरला नाकामा अध्यागमन कार्यालय सञ्चालन

२०८१ कार्तिक १४, बुधबार
पढ्ने समय : < 1 मिनेट

कार्तिक १४

मुस्ताङको उपल्लो भेग स्थित नेपाल र चीनबीचको सीमास्तम्भ(२४ नम्बर सीमास्तम्भ) रहेको कोरला नाकामा अध्यागमन कार्यालय सञ्चालनमा आएको छ।
कोरोला नाकामा यस अघि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका मुस्ताङवासीले मात्र व्यापारका लागि आवतजावत गर्दथे । कार्यालय सञ्चालनले अब भने यस नाकाबाट आवतजावत गर्न चाहने जोकोही नेपालीलाई सहज हुने विश्वास लिइएको छ ।

कोरोला नाकामा नेपालले प्रिफ्याव प्रविधिको १० कोठे अध्यागमन तथा सुरक्षा पोष्ट स्थापना गरेको हो । अध्यागमन कार्यालय सञ्चालनको लागि सरकारले कोरोला नाकासम्म विद्युत् प्राधिकरणको केन्द्रीय प्रशारण लाइनको विस्तार गर्नुका साथै नेपाल टेलिकमको इन्टरनेटसहित मोबाइलको सेवा पु¥याइसकेको छ ।

कोरोला नाकामा चीनले आफ्नोतर्फ भन्सार कार्यालयका साथै अन्य आवश्यक पूर्वाधार निर्माण गरिसकेको छ । गृहमन्त्री रमेश लेखकले कार्यालयको शुभारम्भ गर्दै अध्यागमन कार्यालय सञ्चालनसँगै चीनसँगको द्विपक्षीय सम्बन्ध अझै प्रगाढ बन्ने विश्वास व्यक्त गरे । उनले दुई देशका नागरिक आवतजावतसँगै द्विपक्षीय व्यापार अभिवृद्धिका लागि अध्यागमन कार्यालय महत्त्वपूर्ण हुने बताए ।

समुद्र सतहदेखि चार हजार छ सय ५० मिटर उचाइमा रहेको यो नाकाको गत वर्ष कात्तिक २७ गते चीनको सिगात्से प्रान्तको झोम्वा काउन्ट्रीका मेजेष्ट्री नुर्वु छिरिङ र मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले संयुक्त रुपमा उद्घाटन गरिएको थियो ।
गण्डकी प्रदेशको उत्तरी भूभागमा अवस्थित कोरोला नाका सञ्चालनमा आएसँगै प्रदेशकै दक्षिणी नाका भारतसँग जोडिने त्रिवेणी रहेका कारण व्यापार प्रवर्द्धन, पर्यटन विस्तार आदिका लागि यो बहुउपयोगी बन्ने विश्वास लिइएको छ । दुई ठूला छिमेकी राष्ट्रसँग जोडिएको गण्डकी प्रदेशको समृद्धिमा यो नाका सञ्चालन कोषे ढुङ्गा सावित हुने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय