चिनियाँ कम्युनिष्टको राहत काठमाडौंमा वितरण

२०८१ आश्विन १८, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

असोज १८
चिनियाँ कम्युनिष्ट पार्टीले हालैका बाढीपहिरो र डुबान पीडितलाई पठाएको राहत सामाग्री हस्तान्तरण गरिएको छ । काठमाडौंको टेकूस्थित महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालय हातामा राखिएको सर्वदलीय भेलामा राहत सामाग्री वितरण गरिएको हो ।

छिमेकी मुलुकमा गएको लगातारको वर्षापछि प्राकृतिक प्रकोपका पीडितलाई तत्काल सहयोग गर्ने उद्देश्यसहित चिनियाँ कम्युनिष्ट पार्टी,केन्द्रीय समितिले नेपालको प्रभावित क्षेत्रका स्थानीयलाई राहत सामाग्री पठाएको जनाइएको छ । कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागको समन्वयमा एक हजार २४२ प्याकेट राहत सामाग्री पठाइएको छ । त्यसमध्ये आज ६० परिवारलाई वितरण गरियो ।
उक्त राहत सामाग्री नेपालमा विपद्को खबर सुनेपछि चिनियाँ कम्युनिष्ट पार्टीसँगै ग्रामीण विकास नेपाल कार्यालयको संयुक्त पहलमा ‘हातेमालोबाट चुनौतीको समाधान’ नाराका साथ जुटाउन थालिएको थियो । तत्काल राहत सामाग्रीअन्तर्गत प्रत्येक प्याकेटमा दन्तमञ्जन,ब्रस,रुमाल,साबुन, स्यानिटरी प्याड,प्रेसर कुकुर, प्लास्टिकका साना थैला, ब्लांकेट, झुल,स्लिपिङ म्याट,पानीको भाँडो, मग,चामल,तेल,दाललगायत अत्यावश्यक सामान राखिएको छ ।

सामाग्री हस्तान्तरणका अवसरमा नेपालले व्यहोरेको हालैको प्राकृतिक विपद्सँगै पूरै चिनियाँ समाजको सहयोग र समर्थनमा राहत सामाग्री जुटाइएको जानकारी दिइएको थियो । धेरै चिनियाँ कम्पनी तथा व्यक्ति स्वयमले नेपाल तथा नेपाली समाजले भोगेको पछिल्लो विपदमा थप सहयोग गर्न र उद्धारमा प्रत्यक्ष सहभागी हुने चाहना राखेको पनि बताइएको छ । राहत सामाग्री काठमाडौंस्थित चिनियाँ दूतावासका काउन्सिलर एवम् नियोग उपप्रमुख वाङ सिनको प्रमुख आतिथ्यमा स्थानीय प्रमुख दलका प्रतिनिधिहरु, केही सरकारी अधिकारी तथा पीडित परिवार र सर्वसाधारणको उपस्थितिमा भएको हो ।

 

यसअघि चिनियाँ रेडक्रस सोसाइटीले बाढी पीडितहरुको सहयोगार्थ नेपाल सरकारलाई एक लाख अमेरिकी डलर आर्थिक सहयोग गरिसकेको छ । नेपालका लागि चिनियाँ राजदूत छन सोङले उक्त रकम बराबरको चेक गृहमन्त्री रमेश लेखकलाई सिंहदरबारस्थित गृह मन्त्रालयमा पुगेर हस्तान्तरण गरेका थिए।
यसवीच ल्हासास्थित गुडविल फाउन्डेसनले पनि नेपालका बाढी पहिरो पीडितलाई राहत सामाग्री पठाएको जनाएकोछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय