साउन १८
भारतीय नम्बर प्लेटको एउटै ढुवानीको साधनमा तीनै तहका सरकारले एउटै शीर्षकमा फरक फरक आंकडाको तेहेरो कर लिएको भन्दै कोशी प्रदेशका उद्योगी व्यवसायीहरुले तेहेरो कर खारेज गर्न माग गरेका छन् ।
नेपाल उद्योग परिसंघ कोशी प्रदेश, मोरङ उद्योग व्यापार संघ र उद्योग संगठन मोरङका अध्यक्षहरुले प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई भेटेर ध्यानाकर्षण गराएका हुन् ।
उद्योगीहरुले मुख्यमन्त्री कार्कीलाई उनकै कार्यकक्षमा भेटेर उक्त तेहेरो कर तत्काल खारेज गर्न माग गरेका हुन् । संघीय सरकारले भन्सार विन्दुमा प्रत्येक भारतीय मालवाहक सवारी साधनबाट एक हजार पाँच सय कर असुली गर्दै आएको छ ।
उक्त करले नै आयातित वस्तुको मूल्य बढ्ने र उद्योगको उत्पादन लागत वृद्धि गरिरहेको छ। मुख्यमन्त्री कार्कीलाई बुझाएको सुझाव उल्लेख गर्दै उद्योग परिसंघ कोशीका अध्यक्ष पवनकुमार सारडाले भने, ‘त्यही ढुवानीका साधनसँग प्रदेश र स्थानीय सरकारले पनि आफूखुसी थप कर लिएर मूल्यवृद्धि र उद्योगको उत्पादन लागत झन बढाउने कार्य गरिरहेको छ । भारतीय नम्बर प्लेटका ढुवानीका हरेक साधनसँग कोशी प्रदेश सरकारले पनि १५ सय र स्थानीय निकायले गाडीको भारवहन क्षमताका आधारमा प्रतिगाडी ३ सयदेखि ५ सयसम्म कर लिँदै आएको छ ।’



आफ्नै एक उद्योगबाट अर्को उद्योगमा कच्चा पदार्थ एवं अन्य सहायक कच्चा पदार्थको ढुवानी गर्दा कवाडी करका नाममा स्थानीय निकायले कर असुली गरेर उद्योगीलाई दुख दिएको उद्योगीहरुको गुनासो थियो ।
त्यस क्रममा मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले औद्योगिक वातावरणलाई खलल हुने कुनै पनि क्रियाकलाप नगर्ने र गर्न नदिने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले भारतीय नम्बर प्लेटका ढुवानीका साधनमा तेहेरो कर लिएको सन्दर्भमा सम्बद्ध सरोकारवालासँग परामर्श गरेर टुङ्गो लगाउने आश्वासन दिएका थिए ।
संघीय भावना अनुरुप एक ठाउँमा कर बुझाइसकेपछि त्यसको बाँडफाँटबाट तीनै तहले व्यवस्थापन गर्नुपर्ने भएकाले त्यसै अनुरुप कार्य गराउन संघका निकायहरुसँग समन्वय गरिने मुख्यमन्त्री कार्कीले आश्वासन दिए । निजी क्षेत्रका पदाधिकारीको समूहमा नेपाल उद्योग परिसंघ कोशीका अध्यक्ष सारडा, केन्द्रीय उपाध्यक्ष भीम घिमिरे, मोरङ उद्योग ब्यापार संघका अध्यक्ष अनुपम राठी र उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना लगायतका उद्योगी सहभागी थिए ।



