असार २७
नेपाल–चीन उत्तरी कोरला नाकामा अस्थायी पूर्वाधार निर्माण गरिएको छ। सुरक्षा निकायका लागि भौतिक संरचना तथा उद्धार केन्द्र निर्माण गरिएको हो।
पूर्वाधार विकास कार्यालय मुस्ताङले चालु आर्थिक वर्ष २०८०÷०८१ का लागि विनियोजित ५० लाख बजेटबाट सुरक्षाकर्मीका लागि ६ कोठे भौतिक संरचना तथा उद्धार केन्द्र निर्माण गरिएको सूचना अधिकारी इन्जिनियर घनश्याम रोक्का मगरले जानकारी दिए।उपल्लो मुस्ताङका नागरिकहरूका लागि गत कात्तिक २७ गते औपचारिक रूपमा व्यापारिक कारोबार खुला भएसँगै प्रदेश सरकारले कोरला नाकामा अस्थायी पूर्वाधार निर्माण गर्न चासो दिएको हो। नाकाको दसगजा यता नेपालतर्फको खुल्ला पठार क्षेत्रमा सुरक्षा निकायका लागि भौतिक संरचना तथा उद्धार केन्द्र निर्माण गर्न पूर्वाधार विकास कार्यालय मुस्ताङले चालू वर्षको जेठ १३ गते ४० लाख २५ हजार लागतमा निमा निर्माण सेवा काठमाडौंसँग ठेक्का सम्झौता गरेको थियो।
नाकामा सुरक्षा निकायका लागि आपत्कालीन बासस्थान तथा उद्धार केन्द्र भवन निर्माण गर्न वातावरणमैत्री एसवाई प्यानलको ६ कोठे भौतिक संरचना तयार भइसकेको कार्यालयका सूचना अधिकारी रोक्का मगरको भनाइ छ।
नाकामा सुरक्षा निकायलाई लक्षित गरी निर्माण गरिएको भूकम्प प्रतिरोधात्मक तथा वातावरणमैत्री ६ कोठे भवनमा भान्सा कोठा, बैठक हल र ४ वटा अफिस कोठा छन्।






