बुटवल नारायणगढ सडकका खाल्डाखुल्डी पुर्न निर्माण कम्पनी चाईना स्टेट लाई निर्देशन

२०८१ असार २७, बुधबार
पढ्ने समय : < 1 मिनेट

असार २६
वर्षाको कारण बुटवल–नारायणगढ सडक दिनदिनै जसो अवरुद्ध भएपछि निर्माण कम्पनी चाइना स्टेट कम्पनीलाई सात दिनभित्र बुटवल–नारायणगढ सडकको पूर्वी खण्डमा खाडल पुर्न निर्देशन दिइएको छ। जिल्ला समन्वय समिति नवलपुरको आयोजनामा कावासोतीमा भएको नवलपुरका जनप्रतिनिधि, सुरक्षा निकाय र सरोकारवालाबीचको छलफलपछि यस्तो निर्देशन दिइएको हो।

अहिले बुटवल–नारायणगढ सडक खण्डको दाउन्ने र चोरमारामा दैनिकजसो सडक अवरुद्ध हुने गरेको छ भने दाउन्ने, दुम्किबास, अरुणखोला, चोरमारा, कावासोती, गैँडाकोटलगायतका स्थानमा अत्यधिक खल्डाखुल्टी भएको छ।
पूर्व–पश्चिम राजमार्गको नवलपुर खण्डमा अहिले जम्मा ५३ प्रतिशतको हाराहारीमा काम भएको छ । सडक निर्माणको ठेक्का अवधि साउन ८ गते सकिँदै छ। चाइना स्टेट कम्पनीले भने अहिले आफूहरूसँग पैसा नभएको भन्दै वर्षाको वेला ठाउँठाउँमा सडक अलपत्र परेर छाडेको छ।

सडक अलपत्र हुँदा यात्रुहरूलाई यात्रामा निकै सास्ती भएको छ भने अहिले चोरमारा र दाउन्ने खण्डमा दैनिकजसो सडक अवरुद्ध हुने गरेको छ।
चाइना स्टेट कम्पनीले चोरमारामा तत्काल ग्राभेल बिछ्याएर पानी पर्दा सडक अवरुद्ध नहुने गरी काम गर्ने प्रतिबद्धता जनाएको छ भने ७ दिनभित्र पूर्व–पश्चिम राजमार्गमा रहेको खाल्डाखुल्डीहरू पुर्ने प्रतिबद्धता जनाएको जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विकले बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय