बहादुर भवन चीनले बनाइदिने

२०८१ जेष्ठ २८, सोमबार
पढ्ने समय : < 1 मिनेट

 

जेठ २८

देशभरका निर्वाचन कार्यको व्यवस्थापन तथा राजनीतिक दलको अभिलेख राख्ने निकाय निर्वाचन आयोगको बहादुर भवनस्थित कार्यालय चीनले पुनःनिर्माण गरिदिने भएको छ ।

गत शुक्रबार दिउँसो काठमाडौंस्थित चिनियाँ दूतावासका डिसिएम वाङ सिन आयोगमा पुग्दा उनले जमलस्थित दरबार हाइस्कूलको पुनःनिर्माण (रेट्रो फिटिङ) गरिदिएजस्तै बहादुर भवन पनि बनाइदिने मनशाय व्यक्त गरेका हुन् । सय वर्षभन्दा पुरानो बहादुर भवन राणा प्रधानमन्त्री वीरसमशेरले निजी आवासका रूपमा बनाएका हुन् । पछि साहिँला छोरा रुद्रसमशेरलाई दिए ।

१९९० मा तत्कालिन प्रधानमन्त्री जुद्धसमशेरले सी क्लासका राणालाई चार भञ्ज्याङ कटाउने क्रममा रुद्रसमशेर पाल्पा पठाइए । खालि भएको भवनमा जुद्धका माइला छोरा बहादुरसमशेर बस्न थाले, त्यसपछि बहादुर भवन नामाकरण भएको हो । २००७ सालमा राणा शासनको अन्त्य भएपछि तत्कालिन अधिराजकुमार बसुन्धरा शाहले रुसी नागरिक बोरिस लिसानेभिचसँग मिलेर त्यहाँ ‘होटल रोयल’ चलाए । व्यापारमा घाटा भएपछि बसुन्धराले नेपाल सरकारलाई भवनसहितको जमिन बिक्री गरे । त्यहाँ लामो समय राजसभा स्थायी समितिको कार्यालय राखिएको थियो । पछि निर्वाचन आयोग त्यहीँ सारियो । ०७२ को भूकम्पमा सामान्य क्षति भई पहेँलो स्टिकर टाँसिएको उक्त भवनको बल्ल रेट्रो फिडिङ गर्न लागिएको हो । निर्वाचन आयोगले त्यसका लागि करिव एक अर्ब खर्च लाग्ने अनुमान गरेको छ ।

त्यस्तै, निर्वाचन आयोगका पदाधिकारीलाई डिसिएम वाङले चीन भ्रमणको निम्तो दिएका छन् । चिनियाँ जनकंग्रेसको आतिथ्यतामा उनीहरू अर्को महिना उता जाने संभावना छ । आयोगले चीनसँग आफ्ना प्राविधिकलाई सूचना प्रविधिसम्बन्धी अत्याधुनिक तालिम दिनुपर्ने प्रस्ताव राख्दै छ । त्यस्तै, करिव १५ वटा विद्युतीय गाडी पनि माग गर्न लागेको बुझिएको छ ।

गतहप्ता मात्रै चीन सरकारको सहयोगमा सिन्धुपाल्चोकस्थित चौतारा अस्पतालको पुननिर्माण सम्पन्न र हस्तान्तरण भएको छ । ३९ शैयाको उक्त अस्पताल ६ करोड १० लाख चिनियाँ युआनको लागतमा बनेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय