चीनमा नेपाली चेलीको दर्दनाक कहानी ः विवाह गर्दै वेश्यावृत्तिमा लगाउँदै

२०८१ जेष्ठ २७, आईतवार
पढ्ने समय : < 1 मिनेट

जेठ २७
एजेन्टको फन्दामा परेर चिनियाँ युवकसँग विवाह गर्न पुगेकी युवतीले नर्कको जीवन विताउन परेको घटना सार्वजनिक भएको छ।

चिनियाँ नागरिकसँग बिहे गरेर चीनमै बसिरहेकी मनमाया घलेले नेपाली युवतीलाई अनेकन् प्रलोभन दिएर फन्दामा पार्ने गरेकी छन्।

नेपाल प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्यूरोले गरेको छानबिनका क्रममा यसरी नेपाली युवतीलाई चीन पठाएको आरोपमा नुवाकोटको किस्पाङ गाउँपालिका–१ स्थायी घर भई हाल चीनमा बस्दै आएकी ४३ वर्षीया मनमाया घलेलाई हालै मात्र पक्राउ गरेको हो।

घलेले आर्थिक अवस्था कमजोर भएकी एक युवतीलाई चिनियाँ नागरिकसँग विवाह गरे पाँच वर्षपछि ग्रिनकार्ड बनाउन सकिने भन्दै प्रलोभन देखाएकी थिइन्।

घलेको योजनामा जिल्ला अदालत, काठमाडौंमा १२ चैत २०७९ मा अदालती विवाह गराइएको थियो। विवाहपछि १ वैशाख २०८० मा उनलाई चीन लगेर घले भने नेपाल फर्किएकी थिइन्।

विवाहपछि चिनियाँ युवकले कोठामा बन्धक बनाएर राखेका थिए। पीडित युवतीले मानव बेचबिखन अनुसन्धान ब्युरोसँग भनेकी छन्, ‘घरबाहिरको सानो झुपडीमा मलाई अलग्गै राखेर बाहिरका परपुरुषहरूसँग पैसा लिई वेश्यावृत्तिमा लगाउन थाले। पतिले थर्काएर मैले जे भन्छु, त्यही गर्, नत्र यतै मारेर फालिदिन्छु भनेपछि म विवश भएँ।’

झुपडीमा दैनिक ८–१० जना केटा आएर शारीरिक सम्पर्क राख्नुपर्ने पीडित युवतीले बताइन्।

चिनियाँ पति काम विशेषले घरबाहिर गएका बेला उनले फोनबाट फुपूकी छोरीमार्फत चीनमै बस्ने उसको साथीलाई फोन गरेकी थिइन्। यसरी दूतावासको सहयोगमा उनको उद्धार भएको छ। उनी हाल नेपाल फर्किएकी छन्।

घलेले ती युवतीलाई ५ लाख रुपैयाँ लिएर बेचबिखन गरेको समेत अनुसन्धानबाट देखिएको छ। नेपाली युवतीलाई नक्कली विवाह गरेर चीनमा लगेर बेचबिखन गर्ने गरेको घटना नयाँ होइन ।

०७६ मा मानवबेचबिखन अनुसन्धान ब्यूरोले चार चिनियाँसहित १० जनाको गिरोहलाई नेपाली युवती बेचबिखन गरेको आरोपमा पक्राउ गरेको थियो । त्यसबेला विवाह गरेर चीन पुगेका ४ युवतीको उद्दार भएको थियो।

चीनबाट १२ कात्तिक २०८० मा पनि अर्की एक नेपाली युवतीको उद्दार भएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय