ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले ’ग्रेटर नेपाल’को नयाँ नक्सा सार्वजनिक

२०८१ जेष्ठ २१, सोमबार
पढ्ने समय : < 1 मिनेट

जेठ २१

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले ’ग्रेटर नेपाल’को नयाँ नक्सा सार्वजनिक गरेको छ । काठमाडौँमा एक कार्यक्रम आयोजना गरी नयाँ क्षेत्र थपिएको पाँचौं संस्करणको नक्सा सार्वजनिक गरिएको हो ।

मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले ३ लाख ३४ हजार २५० वर्ग मीटर क्षेत्रफल भएको ग्रेटर नेपालको पाँचौँ संस्करणको नक्सा सार्वजनिक गरेको जानकारी दिए । ऐतिहासिक तथ्य र अभिलेखमा आधारित रहेर नक्सा तयार गरेको उनको भनाई छ ।

हाल प्राप्त तथ्य र प्रमाणका आधारमा नक्सा सार्वजनिक गरेको जानकारी दिँदै अध्यक्ष नेपालले भविष्यमा थप अभिलेख खोजेर नयाँ संस्करणहरु प्रकाशित गर्दै जाने पनि बताएका छन् । जमिनमाथिको स्वामित्वको प्रश्न हजारौँ वर्ष पछिसम्म पनि उठाउन सकिन जनाउँदै त्यसैका लागि मोर्चाले काम गरिरहेको दाबी पनि गरिएको छ ।

’समुद्र गुप्तको प्रशस्तिमा नेपालको पूर्वी सिमाना असमको कामरूपसम्म भएको उल्लेख भारतीय इतिहासविद्धहरुले उल्लेख गरेका छन् भने ग्रेटर नेपालको पश्चिमतर्फको सीमाना रावी नदी हो भन्ने कुरा डेभिड अक्टरलोनी र बडाकाजी अमरसिंह थापाबीच १८०० मे १५ मा भएको एक सम्झौतामा उल्लेख भएको पाइन्छ’, नक्सा सँगै सार्वजनिक विज्ञप्तिमा भनिएको छ, ’दक्षिणतर्फको सीमाना निर्क्यौल गर्न भने अझै खोज अनुसन्धान गर्नुपर्ने देखिन्छ ।’

नेपालको भूमिसमेत समावेश गरि भारतले काल्पनिक, मनगढन्ते र अतिरन्जित हिसाबले ’अखण्ड भारत’ को नक्सा ल्याएको मोर्चाको जिकिर छ । तर, ग्रेटर नेपालले त्यसलाई चुनौती दिन नभई तथ्य र प्रमाणसहितको नक्सा सार्वजनिक गरेको अध्यक्ष नेपालले बताए ।

’इण्डियाको सरकारले नेपालको भूमि समावेश गरी काल्पनिक मनगढन्ते र अतिरन्जित ’अखण्ड भारत’ को नक्सा विश्वव्यापी गरेको सन्दर्भमा तथ्यमा आधारित ग्रेटर नेपालको नक्सा सार्वजनिक गर्नु इण्डियाविरुद्ध पौठाजोरी वा चुनौती होइन, यो केवल नेपाल पक्षधरता हो’, विज्ञप्तिमा भनिएको छ ।

नक्सा सार्वजनिक कार्यक्रममा विशाल नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य चेतन वलि, काठमाडौँ महानगर ११ का वडाध्यक्ष हिरालाल तन्डुकार, पत्रकार लगायत करिब पाँच दर्जन सहभागी थिए । कार्यक्रममा बोल्ने वक्ताहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ’अखण्ड भारत’को नक्सा सार्वजनिक गरेपश्चात जवाफ दिन नयाँ क्षेत्र थपिएको ग्रेटर नेपालको नक्सा सार्वजनिक गर्नुपरेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय